७ जेठ, एजेन्सी।

उत्तर कोरियाले पुष्टि नभएको एक मिसाइल प्रहार गरेको छ।

उत्तर कोरियाले एक हप्ता पश्चात फेरि अर्को मिसाइल प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

उत्तर कोरियाको राजधानी प्योङ्याङ्गको उत्तरी क्षेत्रबाट आइतबार दिउँसो एक पहिचान नगरिएको वस्तु प्रहार भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

योनहाप न्युज एजेन्सीले यसबारेमा अन्य जानकारी दिइसकेको छैन। तर अपुष्ट स्रोत उल्लेख गर्दै यो अन्तरमहादेशी ब्यालेस्टिक मिसाइल हुनसक्ने आशंका जनाएको छ।

अमेरिका र संयुक्त राष्ट्रसंघले मिसाइल परीक्षण र प्रक्षेपणमा प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले निरन्तर मिसाइल परीक्षण गर्दै आएको छ। केही दिन अघि मात्र उत्तर कोरियाले आफुले अझै परीक्षण गर्ने र यो कार्यक्रम कुनै हालतमा नरोकिने बताएको थियो।

उत्तर कोरियाले अन्तरमहादेशी मिसाइल प्रहार गरेको आशंका गरिएको यो पहिलो पटक हो। तापनि यो अझै पुष्टि भइसकेको छैन। यो भन्दा अघि उत्तर कोरियाले आफुले अन्तरमहादेशीय मिसाइल निर्माण गरिएको दाबी गरेको थियो। यो दाबी पश्चिमी देशका मिसाइल विज्ञहरुले असम्भव बताएका थिए।

अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल सामान्यतया ५ हजार किलोमिटर भन्दा पर सम्म प्रहार गर्ने सक्ने मिसाइललाई बुझिन्छ। अमेरिकासम्म प्रहार गर्ने क्षमता हासिल गर्न उत्तर कोरिया यस्तो मिसाइल बनाउँदैछ।