२७ भदौ, एजेन्सी ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकले उत्तर कोरियामाथि कठोर प्रतिबन्ध लगाएको छ । बैठकले उत्तर कोरियामाथि कपडा निर्यात र कच्चा तेलको आयात तथा विदेशी कामदारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कपडाको निर्यात उत्तर कोरियाको महत्वपुर्ण आम्दानीको स्रोत मानिन्छ । अमेरिकाले उत्तर कोरियामाथि तेलमा पुर्ण प्रतिबन्ध लगाउन प्रस्ताव गरेकोमा सुरक्षा परिषद् बैठकले कच्चा तेल आयातमाथि प्रतिबन्ध लगाएको निर्णय गरेको छ ।

सुरक्षा परिषद् बैठकमा बोल्दै राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्कि हेलीले उत्तर कोरियामाथि कच्चा तेलमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । उनले अमेरिका, उत्तर कोरियासँग युद्धको खोजिमा नरहेको पनि प्रष्ट पारे ।

राजदुत हेलीले आफ्ना गतिबिधि सुधारेर सहि मार्गमा आउन उत्तर कोरियालाई चेतावनी दिएका छन् । यस्तै राष्ट्रसंघका लागि चीनका राजदूत लिउ जेईले अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न उत्तर कोरियासँग आग्रह गरेका छन् ।

तर यसअघि उत्तर कोरियामाथिको थप प्रतिबन्ध लगाउने विषयमा भिटो शक्ति राष्ट्र चीन र रुसले असहमति जनाएका थिए । राष्ट्रसंघको प्रतिबन्ध र विश्व समुदायको दबाबलाई वेवास्ता गर्दै उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

उसका आणविक कार्यक्रम विश्वकै लागि खतरा बन्न थालेको भन्दै अमेरिकासहितका शक्ति राष्ट्रहरु त्रसित हुन थालेका छन् ।