संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रसले स्थानीय तहको निर्वाचन अगाडि प्रतिस्पर्धी एमाले र सत्तारुण सहयात्री दलविरुद्ध विषवमन गरेको छ । ३१ वैशाखको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ल्याइएको घोषणापत्रमा कांग्रेसले एमालेलाई असहिष्णु र उग्रराष्ट्रवादी, माओवादीलाई अस्थिर सत्ताको लोभी भन्दै आरोप लगाएको हो ।

मधेसवादी दललाई सद्भाव विथोल्ने हठधर्मि भन्दै कांग्रेसले राप्रपालाई पनि अवसरवादी र पञ्चायत मोहीको संज्ञा दिएको छ । आफूलाई पनि राजनीतिक परिवर्तनको शक्तिको रुपमा उभ्याउँदै सामाजिक, आर्थिक रुपान्तरणको रुपमा आफूलाई उभ्याएको छ ।

मोर्चाको माग एमालेको त्रास, के होला निर्वाचन ?

कांग्रेसले चुनावी घोषणापत्रमा प्रमुख दलमाथि निर्ममतापूर्वक गरेको टिप्पणी यस्तो छ :

एमाले : असहिष्णुता र उग्र राष्ट्रवादको पासो
संविधान निर्माण भइसकेपछिको राष्ट्रिय राजनीतिमा पनि अतिवादको जोखिम र चुनौती कायमै छ । अहिले संसदमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रह्यो । फलस्वरुप, नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी भएपनि र संविधान निर्माणमा सहकर्मी भएपनि नेकपा (एमाले) आफू सहभागी सरकारको निर्णय प्रक्रियामा खुला मनले सहयोगी र लचिलो भूमिकामा प्रस्तुत भएन । संसदीय पद्धति र आचरण अनुरुप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा पार्टीगत र गुटगत राजनीतिक भागवण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखायो ।

नेकपा (एमाले) को नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असहिष्णुता झनै बढ्न गयो । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका विकास, न्याय क्षेत्र र कुटनीतिक क्षेत्रका नियुक्तिहरु एमाले नेतृत्वको सरकारद्वारा बदर गरिए । प्रशासन, न्याय सेवा, कुटनीतिक र शिक्षण क्षेत्रमा पार्टीकरणको प्रक्रिया प्रारम्भ भयो । सरकारका वित्तीय स्रोत र साधन दलको स्वार्थका निम्ति दुरुपयोग गरियो । फलस्वरुप सत्तामा सहभागी दलहरु एमालेसंगको सत्ता साझेदारीमा टिक्न सकेनन् र एमाले नेतृत्वको सरकारको पतन भयो । सत्तामा रहुन्जेल नेकपा (एमाले) ले संविधान संशोधनद्वारा संविधान सम्वन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत सहजै समर्थन गरेन । बरु उसको अतिवादी राजनीतिक अडानले तराइ–मधेशको आन्दोलन झनै चर्को बन्दै गएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई अचानक माेदीकाे फोन !

एमालेको यो अनुदार प्रवृत्तिले संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया समेत जोखिममा परेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा साना राजनीतिक दलहरुको पनि महत्व र भूमिका रहेको छ । तर नेकपा (एमाले) ले यो सत्यलाई आत्मसात् गर्न सकेन र उ साना राजनीतिक दलप्रति पनि अनुदार देखियो । एमालेको राजनीतिक असहिष्णुताले संविधान निर्माणको प्रकियालाई आन्दोलनको सीमासम्म धकेले पनि नेपाली कांग्रेसले मध्यस्थता गर्दै एमाले र माओवादी दुबैलाई संविधान निर्माणको काममा एक ठाउँमा राख्न सक्यो ।

लोकतन्त्रले नेपाली राजनीतिमा ल्याएको अभूतपूर्व जागरणले गर्दा देशमा विभिन्न प्रकृतिका अधिकारका आन्दोलन उठेका हुन् । मधेश आन्दोलन, आदिवासी जनजातिको पहिचानको आन्दोलन, थारु, मुस्लिम लगायतको फराकिलो प्रतिनिधित्व र अधिकारको आन्दोलनप्रति एमालेले देखाएको नकारात्मक र असहिष्णु व्यवहारले नेपाली राजनीतिलाई गम्भीर र जटिल बनाउँदै लगेको छ ।

प्रचण्डको निर्णायक खेल, निर्वाचनमा मधेसी मोर्चा सामेल

मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ । मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पु-याएको छ ।

एमालेको वर्तमान नेतृत्वको अदूरदर्शी अडानले संविधान संशोधनको प्रक्रिया र सहमतिको राजनीति जोखिममा परेको छ । संसदीय अभ्यास र देशको विकास प्रक्रियामा समेत यसले नकारात्मक प्रभाव पारेको छ ।

माओवादी : अस्थिर राजनीतिको लाभ खोज्ने प्रवृत्ति
देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा (माओवादी केन्द्र) ले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेको छैन । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आवद्ध हुनुको साटो नेकपा (माओवादी केन्द्र) भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ । नेकपा (माओवादी केन्द्र) को यो ढुलमुले प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको छ । सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ ।

मधेसी दल : हठधर्मिताको चक्रव्यूह
मधेश केन्द्रित दलहरु भने आफ्नै हठधर्मिताको चक्रव्यूहमा फँस्दै गएका छन् । मधेशका जनतालाई सधै निर्मम आन्दोलन र क्षतिमा होमेर राजनीतिक संवाद र सहमतिलाई कहिल्यै परिणाममुखी बन्न नदिने र आन्दोलनलाई सामाजिक सद्भाव विग्रने सीमासम्म फैलिन दिएर मधेश केन्द्रित दलहरुले मधेशमा अतिवादी सोच र प्रवृत्तिलाई बल पु¥याउने गम्भीर गल्ती गरिरहेका छन् । नेपाली कांग्रेस यो आन्दोलनको चक्रव्यूहबाट निस्किएर संविधान संशोधनको माध्यमबाट समस्या समाधानमा अग्रसर हुन मधेश केन्द्रित दललाई आह्वान गर्दछ । मधेशका जनताको अधिकार, फराकिलो प्रतिनिधित्व, राज्यका संरचनामा सहज पहँुच, भाषा–संस्कृतिको सम्मान र विकास एवं रोजगारीका मुद्दालाई नेपाली कांग्रेसले लोकतान्त्रिक विधिबाट सम्बोधन गर्नेछ ।

चुनावपछि देउवालाई नेतृत्व हस्तान्तरण गर्छुः प्रचण्ड

राप्रपा : सत्ता राजनीति र पञ्चायती मोह
लोकतान्त्रिक शक्तिसँग विश्वसनीय सहकार्य र संविधान संशोधनको बाटोबाट देशमा विद्यमान समस्या समाधान गर्न राप्रपा आफ्नो अतृप्त सत्ता राजनीति र पञ्चायत मोहको प्रवृत्तिबाट बाहिर निस्कन जरुरी छ । नयाँ संविधानलाई निष्ठाका साथ स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी सत्ता राजनीतिको दलदलमा फसाउँदै ल्याएको छ ।

राष्ट्रिय राजनीतिको यो अतिवादी र ढुलमुले प्रवृत्ति राष्ट्र र लोकतन्त्रका लागि जोखिमपूर्ण छ । नेपाली कांग्रेस सबै राजनीतिक दलसँग निरन्तर संवादमा बसेर देशलाई सहमति, सहकार्य, एकता र मेलमिलापको बाटोमा हिंडाउन संकल्पवद्ध छ । अब राजनीतिक दलहरुले सत्ताको निम्ति मात्र दलीय प्रतिस्पर्धा गर्नुको साटो लोकतन्त्र र आर्थिक समृद्धिको मुद्दालाई केन्द्रभागमा राखेर राजनीतिक सहकार्य गर्ने तत्परता देखाउन जरुरी भएको छ । संविधानसँग सम्बन्धित तराई–मधेश, थारु र आदिवासी जनजाति आन्दोलनको असन्तोषलाई संविधान संशोधनको माध्यमबाट समाधान गरी सिङ्गो देशको सामथ्र्य र साधन–स्रोतलाई आर्थिक समृद्धिको एजेण्डामा केन्द्रित गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको निश्कर्ष रहेको छ ।

प्रचण्ड देउवा र कमल थापाबीच यस्तो सहमति