४ मंसिर, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गरेका छन । झूठ बोलेर ठाग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवले बताए ।

निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाऊँ पालिका वड़ा न. ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने,- ‘वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ ।’

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरेका छन । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको यादवले आरोप लगाए । यादवले भने,- ‘मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो । जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।’

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी गरेका छन । त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई अपील गरेका छन ।

 

सप्तरीको निर्वाचन क्षेत्र न. २ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपेन्द्र यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ ।