१४ मंसिर, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत शुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । उक्त अभियानका क्रममा आजसम्म कच्चा पदार्थसहित ३४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार तयारी मदिरा मात्रै १३ हजार लिटरभन्दा बढी बरामद गरेर नष्ट गरिएको छ ।

यस्तै घरेलु मदिरा बनाउने तयारीमा राखिएको २१ हजार लिटरभन्दा बढी कच्चापदार्थ बरामद गरी नष्ट गरिएको ढकालले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाको पाँच रणनीतिमध्येको घरेलु मदिरा नियन्त्रण अभियान जिल्लाको बजारसँगै गाउँ क्षेत्रमा समेत सञ्चालन गरिएको बताए ।

घरेलु मदिराका कारण साना कुरालाई ठूलो बनाउने र त्यसैबाट राजनीतिक समूहबीच नै विवादको अवस्था सिर्जना गर्ने भएकाले यो अभियानलाई कडाइ गरिएको प्रहरी प्रवक्ता ढकालले बताए ।

अहिलेसम्म मदिरा उत्पादन नगर्न र बिक्री नगर्ने सर्तमा छाडिएको र आजदेखि सुरक्षा कडा पारिएकाले यस्ता क्रियाकलाप भएको पाइए पक्राउ गरिने प्रहरीले जनाएको छ । घरेलु मदिरा नियन्त्रणसँगै जिल्लामा प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियान, लागुऔषध, साना हातहतियार, चुनाव बिथोल्ने गतिविधि नियन्त्रण अभियान चलाएको छ ।

साना हातहतियार नियन्त्रण अभियानअन्तर्गत अहिलेसम्म जिल्लामा दर्ता भएका ४४ हतियारसमेत प्रहरीमा आइसकेको र अन्य आउनेक्रम जारी रहेको ढकालले जानकारी दिए ।

निर्वाचन विरोधी गतिविधि गर्ने र गुण्डागर्दी गर्ने ४० भन्दा बढीलाई पक्राउ गरी कारबाही चलाइएको प्रहरी उपरीक्षक दीपक थापाको भनाइ छ । प्रहरीले विशेष गरी विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कडा निगरानी गरिरहेको जनाएको छ ।