१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबलको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको घटनाबारे नयाँदिल्ली भ्रमणका क्रममा आफूले स्पष्टरुपमा कुरा राखेको जानकारी दिएका छन ।

व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा उनले भने, “कञ्चनपुर घटनाका बारेमा गृह र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट भारत सरकारसँग कुराकानी भइरहेको छ ।”

छ वर्षअघि मोरङमा भएको घटनामा मृत्यु भएका वासुदेव साहको परिवारलाई पनि नेपाल सरकारले रु १० लाख उपलब्ध गराउन लागेको जानकारी दिँदै गृहमन्त्री निधिले भारतीय सुरक्षाबलका कारण उक्त घटना भएको भन्ने सुरक्षा समितिको प्रतिवेदनका आधारमा सरकारले उनको परिवारलाई राहत उपलब्ध गराउन लागेको बताए ।

बैठकमा सप्तरीमा पछिल्लो समय भएको घटनामा मृत्युहुने पाँचमध्ये चार जनाको परिवारलाई क्षतिपूर्तिवापतको रकम उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री निधीले बाँकी एउटा परिवारलाई पनि निकट भविष्यमै रकम उपलब्ध गराइने बताए ।

गत वर्षा याममा सप्तरीको तिलाठीमा भएको घटना र घटनास्थलबारे थप अध्ययन र अवलोकन गर्न केही दिनमै आफू त्यहाँ पुग्ने निधीले समितिलाई जानकारी दिए । रासस