९ साउन, साउदी अरब । कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले आइतबार खाडी मुलुकहरूको भ्रमण शुरु गरेका छन ।

कुवेत जानु अघि उनी आइतबार साउदी अरब पुगेका छन । साउदी अरबमा उनले शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम बनाएका छन । एर्डोगानले कतार, कुवेत र साउदी अरेबियाको भ्रमण गर्ने योजनासहित टर्कीबाट निस्किएका हुन ।

“यो समस्या र संकट लामो समयसम्म रहिरहोस् भन्ने कसैको पनि चाहना छैन,” दुईदिने भ्रमणका लागि देश छोड्नु अघि स्तानबुल विमानस्थलमा उनले भने ।

उनले सरोकारबालाहरूसँग गम्भीर वार्ता र छलफल गरेर समस्या समाधानका लागि आफ्नो भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गरेका छन ।

पछिल्लो समयमा कतार गम्भीर कूटनीतिक संकटमा परेको छ । त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उनको कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन ।

कतारमाथि उसका छिमेकी खाडी मुलुकहरूले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन ।

कतारसँग उसका छिमेकी मुलुकहरूको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुगेका थिए ।

“फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका जनता विषेश गरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरूलाई पनि दुःख दिएको छ” ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए ।

विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिएको भए पनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन ।

रियादको भ्रमणपछि उनी कुवेत र संयुक्त अरब इमिरेट्स पनि पुगेका थिए । उनले सो भ्रमणमा छलफलबाटै संकटको समाधान खोज्न जोड दिएका थिए ।

उनीसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरू रहेको दाबी गर्दै सम्बन्ध पुनःस्थापनाका लागि कतार सच्चिएर आउनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरूले भने सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् ।

तर यी सबै आरोपहरूको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएका यी सबै आरोप निराधार रहेको दाबी गर्दै आएको छ । यही कारणले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको नाकाबन्दीलाई अझै पनि कायमै राखेका छन् । रासस/सिन्ह्वा/एएफपी