५ असार, काठमाडौं । फिफा कन्फेडेरेसन्स कप फुटबलमा आज एशियन च्याम्पियन अष्ट्रेलिया र विश्व बिजेता जर्मनी भिड्ने भएका छन् ।

खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे फिस्ट रंगशाला सोचीमा हुनेछ । अष्ट्रेलिया र जर्मनीको यो छैंटौ भेट हो । यसअघि भएका ५ खेलमा जर्मनीले ३ र अष्ट्रेलियाले एक खेल जितेका थिए भने एक खेल बराबरी भएको थियो ।
सन् २००५ मा कन्फेडेरेशन कपको समूह चरणमै जर्मनीले अष्ट्रेलियालाई ३ का विरुद्ध ४ गोलले पराजित गरेको थियो । १२ वर्षपछि प्रतियोगितामा फर्किएको अष्ट्रेलिया आज सुखद सुरुवात गर्ने तयारीमा छ ।

विश्वकप खेलेका तीन खेलाडीसहित मैदान उत्रिने जर्मनी पनि विजयी सुरुवात गर्ने दाउमा छ । जर्मनीको टिममा विश्वकप खेलेका स्कोड्रान मुस्ताफी, माथियास जिन्टर र जुलियन ड्राज्लर सहभागी हुनेछन् ।

यसअघि गएराति चीलीले क्यामरुनलाई २–० गोलले पराजित गरेको छ । निकै प्रतिष्पर्धात्मक खेलको अन्त्यतिर चीलीले लगातार दुइ गोल हानेको हो ।

अर्टुरो भिडालले खेलको ८१ औं मिनेटमा र इडुआर्डाे भारगासले इन्जुरी समयमा गोल गरेका हुन् । यसअघि राति नै भएको अर्को खेलमा पोर्चुगल र मेक्सिकोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।