राम ढुंगाना ( अल्पमत )

रातभरी निन्द्रा लाग्दैन , कैयौ रात भयो आँखा झिमिक्क सम्म पारेको छैन । सुत्न गयो निन्द्रा लाग्दैन शुरु हुन्छ छट्पटी अनि तनाब ।

रात परेपछि सुत्ने कोठा भनेको थकान मेटाउने जिउलाई आराम दिने थलो हो । तर मेरो लागी पिडा बल्झाउने ठाउँ । निन्द्रालाई स्वागत गर्न कहिले , ओल्टे फर्किन्छु कहिले कोल्टे , त कहिले उत्तानो ।

निन्द्रा हैन पिर र चिन्ता दौडिदै आउँछन् ।

बेरोजगारीले आँक्रान्त बनेको कामै नगरेर थकित र शिथिल शरिर । रोजगारीको लागी मिठो सपना देख्दै युरोप , अमेरिका , अस्ट्रेलिया जस्ता धेरै पैसा कमाँइने भनिएको देशमा जान साहुहरु संग महंगो ब्याजमा घर- जग्गा धितो राखेर लिइएको ऋृण ।

त्यहि ऋृण तिर्न नसकेर केहि महिना अगाडि तीस- चालीस मुरी धान फल्ने ‘गैरी ‘ खेत साहुले ब्याजको स्याज लगाएर खाइदियो ।

अब दुई महिना मात्र ऋण बुझाउने भाखा बाँकी छ । समयमै बुझाउन नसके बाँकी रहेको ‘ टार ‘ खेत पनि साहुले खाइदिन्छ । त्यसपछि बस्ने घर बाहेक सबै कुरा सिध्दिन्छ । घर पनि बन्धकी मै छ । त्यो पनि कुनदिन आएर खाली गर्दे भन्छ । अब त सुकुम्बासी घोषणा हुन मात्रै त बाँकी रहेको छ ।

Ram Nath Dhungana

पुरै मन – मस्तिक पिरैपिरको ढुकुटी जस्तो भएको छ । जहाँ पिर चिन्ताहरु ठेलमठेल गरेर तछाँडमछाड गर्दै कोचिएर बसेका छन् । यस्तो अबस्थामा कसरी निदाउँन सक्छु त म ?

जहाँ पनि बलियोले कमजोर लाई जित्ने त हो । मेरो निन्द्रा भन्दा पिर चिन्ता बलियो भइसकेपछि निन्द्रा कसरी आउँन सक्छ ? बरु निन्द्राको सट्टामा मैले विदेशको चक्करमा भोगेका अनगिन्ती हैरानीहरु र मलाँइ ठग्नु सम्म ठगेर रित्याइदिएका दलालहरुको अनुहार याद आउँछ ।

दिनभरीको बिना- फोकटको दौडादोड , बिना- फोकटको भेटघाट केहि भइहाल्छ कि भन्ने आशै- आशमा पिर चिन्ता भुलिने । घाम दिनभरिको आफ्नो ड्युटि सकेर आरामको लागी आफ्नो घरतिर फर्किरहेको संकेत गर्दै डाडाँबाट बिस्तारै ओझेल पर्दै जान्छ तब एक- किसिमको डर लाग्न शुरु हुन्छ । अनि मुटु ढुकढुक गर्दै जोड- तोडले धड्किन शुरु गर्छ ।

ओहो रात पर्न शुरु भो । किनकि मलाँइ अध्यारो फिटिक्कै मन पर्दैन । प्रत्येक रातहरु मेरो लागी पिडा बोकेर आउँछन् ।

मान्छेहरु बेडमा पुगेपछि आनन्दले सुत्छन् । मिठामिठा सपना देख्छन् । योजनाहरु बुन्छन् । अनि भोलीको लागि राम्रो दिनको कामना गर्दै मज्जाले निदाँउछन्। मेरो लागी त्यहि बेड काँडैकाँडाको झै लाग्छ । सुत्ने कोठा जेल, अनि बेड चाहि सजाय दिने ठाउँ, आफुलाई ठुलै अपराध गरेको अपराधी ।

मान्छेहरु रातभरी सुतेर बिहानै ‘मर्निंग वाक’मा हुन्छन् । मेरो लागी मध्य रात ‘नाइट वाक’ बनिदिन्छ । मध्य- रातमा उँठेर घर-भित्रै बेहोशीमै भौतारिनु । घरको तल माथि गर्नु मेरो नियती नै बनिसकेको छ ।

घर सामुन्ने एउटा ठुलो रुख छ त्यहि रुखमा धेरै अगाडी देखि एउटा चरोको गुँड छ । दिनभरी म जस्तै कता – कता भौतारीदै हिड्छ होला देखिदैन । जब म मध्यरातमा उठेर बरण्डा बाट उसलाइ हेर्छु । उ पनि मलाँइ देख्ने बित्तिकै आफ्नो छलकपट रहित निर्दोष आँखा टिलिक्क टल्काएर मतिर एकोहोरो हेरिरहन्छ । त्यो चरो पनि प्राय: सधै झोक्राएर बसिरहेको देख्छु ।

म सुस्त आवाजमा उस्लाई प्रत्येक रात एउटै प्रश्न गर्छु, तलाँइ चाहि के- को पिर चिन्ता परेर रातभरी नसुति बसेको ? किन झोक्राएर बस्छस् हँ ?

मेरो त विदेशको भिसा लागेन । अमेरिका , अस्ट्रेलिया गएर प्रशस्त पैसा कमाउने सपना टुट्यो। चाहेर पनि सुत्न सकिन ! तलाँइ के भको छ ? चरो के बोलोस् बिचरा मेरो भाषा बुझ्दो हो त मेरो नजिकै आँएर आफ्नो पिडा बताँउदो हो नि ?

मेरो प्रश्न सुनिसकेपछि फेरी घोसे मुन्टो लगाएर झोक्राउँन थाल्छ । म फेरी घरको चक्कर लगाउन थाल्छु ।

जब रात छिप्पिदै जान्छ किरा फट्यांग्राहरुको झर्को लाग्ने आवाजमा पनि जुनकिरी धिप-धिप बत्ती बाल्दै रमाँउदै नाचिरहेकी छे । कति खुशी छे कति सुँखी छे । मलाई जुनकिरीको मस्त उन्माद र खुशी देखेर औधी डाँह लाग्छ । एकछिन आँखा चिम्म गरेर भगवान संग पुकार गर्छु ,अर्को जुनीमा मलाँइ जुनकिरी बनाँइदेउ । म पुरै जिन्दगी खुशी साँथ बिताउँन चाँहन्छु । जुनकिरी जस्तै ।

कोही सुनाउँछन् हिजोको रात कति छोटो ? कोही भन्छन् निन्द्रै पुग्दैन । मेरो लागी यी अचम्म लाग्ने र अपत्यारीला कुराहरु हुन् । एकादेशको कथा जस्तो । किनकी मेरो लागी प्रत्येक रात एक जुनी बराबरको लाग्छ । कोठा त मसानघाट जस्तै जहाँ म लाशहरुको बिचमा एक्लै छु । त्रसित छु ।

दलालहरुले दिएको झिनो आशा जिउँने आधार बनिरहेको छ । कुनै दिन विदेश पुगेर म पनि दिनरात नभनी खटिएर काम गर्छु र आफ्नो सपना साकार पार्छु । मेरो बा- आमाँलाई संसारभरिको खुशी दिन्छु । विदेशबाट घरमा फोन गर्दै अब तपाँइहरुको दुँखको दिन सक्कियो । आराम गरेर काम नगरि बाँकी जिन्दगी बिताउनुस् । म पैसा कमाउँने ठाउँमा छु । दु:ख म गर्छु ।

त्यो दिन मेरो बा- आमाले म प्रति गर्व गरुन् ।

तर कहिले ? कुनै दिन मेरो सपना टुक्रियो भने म पनि टुक्रिन्छु होला । अनि म यो धर्तीमा रहन्न होला । सदाँको लागी मैले यो धर्तिलाई बिदा गरेर जान्छु । कहिल्यै नफर्केने गरेर ।

एउटा दलालले पैसा जम्मा गर् म एक- महिना भित्र तेरो अमेरिकाको भिसा लगाइदिन्छु भनेर भोलि पासपोर्ट र कागजपत्र लिएर भेट्न बोलाको छ ।

हुनत त्यसले पनि मलाइ ठग्नकै लागी त बोलाएको होला नि । तर के गर्नु मेरो नियति र खसी- बोकाको नियती उस्तै लाग्छ । काट्न लागेको भन्ने थाँहा हुँदाहुँदै पनि घास देखाँएर पछि- पछि लाग्दै हिड्ने निर्दोष पशुहरु । र , ठग हो भन्ने थाहाँ हुदाहुदै पनि उस्कै आशा र भरोसा गरेर दलालीको पछि कुद्नु पर्ने म ।

तर भोली त्यो दलाल सम्म पुग्ने गाडी भाडा समेत म संग छैन । फेरी उनीहरु साधारण चिया पसलमा भेट्न खोज्दैनन् । जहाँ एक कप चिया र एउटा दुनोटको भरमा एक- दुँइ घण्टा बिताउन सकियोस् । उनीहरु लाई नाम चलेकै रेस्टुरेण्ट जान पर्ने महंगा रक्सी र विदेशी खाना । घटिमा पनि आठ- दश हजार गोजीमा हुनै पर्छ ।

‘ सर ‘ , साधारण रेस्टुरेन्टमा जाउँन भनेर अनुरोध गर्यो भने जाबो एउटा रेस्टुरेन्टमा बसेर खान समेत नसक्नेले अमेरिकाको भिसा लागेपछि दश , पन्ध्र लाख कसरी जुटाउँछौ भनेर झाँको झार्छन् ।

आफ्नो पैसामा दलालहरुले डकार आउन्जेल खान्छन् ! टन्न अघाँइसकेपछि ‘ वेट्रेसलाई ‘ आफु ठुलो मान्छे भनेर शान देखाउँन , फाल्नकै लागी फेरी एक्स्ट्रा खाँना मगाउछन् , र नखाइ छोडिदिन्छन् ।

आफु चाँहि आफ्नो पेट मारेर उस्ले खाको हेर्दै बस्यो । आफुले पनि खायो भने तिर्ने पैसा पुग्दैन । उसलाई महंगो रक्सी मगाइदियो र आँफु पैसा नपर्ने एक- गिलास पानी पिउँदै बस्यो ।

हिड्ने बेलामा दलालीले भन्छन् भाइ मेनु कार्डको भित्र टिप्स टन्न राख्देउ मेरो इज्जतको सबाल छ । यहाँको सबैले मलाई चिन्छन् ।

म मनमनै भन्छु , अर्काको पैसामा टिप्स दिएको भरमा आफ्नो इज्जत बढेको देख्ने , नचाँहिदो र नहुने कुराँमा झुटो आश्वाशन मात्रै दिने भएरै दलाल र दलाली शब्द यत्रो बद्नाम भको ।

भोलिको लागी कसरी पैसा जोगाड गर्ने होला प्रभु ? लामो सुस्केरा हाले ।

यसो आफुले लगाउने गरेको पाइन्ट तिर नजर लगाए एउटा गोजीको भित्री भाग ह्वांग प्वाल परेको थियो । अर्को गोजीको भित्री भाग बाहिर निस्किएर मलाइ जिब्रो देखाउदै जिस्काउदै थियो । ओइ म खाँली भए छिट्टो पैसा भर ।

बुबा संग कसरी पैसा मागौ ? फेरी कहाँ बाट लेराएर दिउन् पैसा बिचरा ? बुबाले सक्ने जति दिइसक्नु भो , भएजति गरिसक्नु भो । अब बुबाले मेरो लागी आफैलाई साहुँकोमा बन्धकी मात्र राख्न बाँकी छ । उहाँलाई साहुले बन्धकी राख्ने भए सायद मेरो लागी त्यो पनि गर्नु हुन्थ्यो होला ।

तैपनी मलाइ आँट र भरोसा दिइरहनुहुन्छ । बाबु धैर्य गर नआत्तिइ । सोच्छु यस्तो समझदारी अभिभावक मेरो साथमा हुनु म जत्तिको भाग्यमानी सायदै संसारमा कोही होला । तर म जस्तो नालायक छोरो संसारको कुनै पनि बाँउले नपाउँन् । जो बुढेसकालमा साहारा बन्नु पर्ने उहाँहरु लाई पाल्नु पर्ने ठाउँमा उल्टै बाउबाटै आशा गर्छ ।

पर्स निकालेर हेरे पर्स भरि दलालीहरुका भिजिटिंग कार्ड, र फोन नम्बर लेखिएका कागजहरुले राम्रो संग बस्ने ठाउँ नपाएर ठेलमठेल गरिरहेका थिए । म संग भएका भिजिटिंग कार्डका मालिकहरु प्राय: सबैले मलाई कुनै न कुनै बहानामा ठगिसके । ति सबै लुटेराहरुको कार्ड मात्रै थिए ।

भोली सहर सम्म पुग्न मुख्य समस्या त बाटोको पो थियो । बाटैभरी साहुहरु छरिएका हुन्छन् । धेरै लाई भोली सापटी लिएको पैसा तिर्छु भनेर बाचाँ गरेको छु । जुनसुकै बाटो छलेर जाउँ एउटा न एउटा साहुले मलाइ भेटिहाल्छ, कुन बाटो भएर पो जाने होला ?

शिकारी संग संगत गरेपछि गुलेली हान्न सिक्न पर्ने रछ, माग्नेहरु संग हिडियो भने भिख माग्ने कला जान्नु पर्ने रछ । समयले डोहर्याउदै नचाहादा नचाहदै ठग- फटाहाको संगतमा पुर्यायो । अनि उनीहरुले मलाइ ठगे । मैले नचाहेर पनि साथीहरुलाई साहुहरुलाई झुट बोल्दैछु ! म फटाहा पनि भए ।

भोलीको खर्च जुटाउन चारैतिर घर घुमे कोठा- कोठा भित्ता सबै चाहरे, काम लाग्ने चिज र कसैले किन्ला जस्तो कुनैपनि सामान कही कतै भेटिन । बाँकी थियो घरका भित्ता पर्खाल ।

छट्पट्टि बढ्यो एक लोटा पानी पिए । जाडोको समय थियो , जिउ पसिनै- पसिनाले निथ्रुक्क भिज्यो । झट्ट निर्णय लिए । म बाँच्दिन आत्महत्या गर्छु ।

कति बाँच्नु अभाब र पिडामा पिल्सीएर अहिले म कुन चाहि जिउँदो छुर ? श्वास चल्नु जिवनको परिभाषा भित्र पर्ने भएर मात्र म जिउँदो छु । नभए म मरिसकेको छु । जिउँदो लाश ।

यत्रो उमेरमा पनि बा- आमाको कमाइ खाएर बाँच्नु परेको छ । न कसैलाई काम आएको छु । न भविष्यमा काम लाग्न सक्छु ? बेतुकको अनि गन्तब्यहिन जिन्दगी बाँचेर के फाइदा ? उल्टै परिवार माथी बोझ बनेर ।

म जिउँदो हुँदा खुशी कोही हुदैनन् भने , म मरेपछि रुने पनि कोही छैनन् !

घरको छँतबाट हाम फाल्छु भनेर सरासर घरको छतमा उक्लिए । हाम फाल्न मात्र लागेको थिए ! एउटा कालो आकृती बिचैमा देखा पर्यो र भन्यो पर्खि यति छिट्टै हरेश खान्छस् हुतिहारा , हात- खुट्टा सबै सद्दे नै छन् त तेरो । जोश- जाँगर प्रशस्त छ ! गरेर देखाउँनु पर्छ आत्महत्या देखाउने त काँतर हुन् ।

बाबु- आमाको एउटै मात्र छोरो छस् । तेरो लागी बाउ- आमाले आफुलाई रित्याए । कति धेरै आशा गरेका छन् । त मरिस् भने के तिनीहरु बाँच्लान् ? त मरेर त जालास् तेरो बाउ – आमालाई कति धेरै पिडा होला ? त मरेर गएपनि तेरो आत्मा तड्पिरहन्छ । तेरो मृत आत्माले कहिल्यै शान्ती पाउँदैन ।

त्यसैले हिम्मत गर , विदेशको भिसा लागेन त के भो र आफ्नै देशमा मिहिनेत गर पौरख गर । यदि तँ लक्ष्य प्राप्तिको लागी हरेश नखाँइ लगातार संघर्ष गरिरहिस् भने एकदिन अवश्य गन्तब्यमा पुग्छस् ।

यदि आत्महत्या नै सम्पुर्ण समस्याहरुको समाधान भैदिएको भए संसारमा को जिउँदो रहन्थ्यो होला र ? तँ भन्दा धेरै दुँखी यो संसारमा थुप्रै छन् । बाँचिराखेकै छन्।

यति भनेर त्यो कालो आकृती अलप भयो । म फेरि त्यहि एकछिन घोरिएर सोच्न लागे ।

हो सही हो ,अब म मर्दिन म संघर्ष गर्छु ! म मेरै देशमा पसिना बगाउँछु ! यहि देशमा केहि गरेर बनेर देखाउँछु ! म अब विदेश जान्न ।

त्यसपछि कोठामा फर्किए । बेडमा पल्टिए । एक किसिमको आत्म- सन्तुष्टि मिल्यो । सोचे भोलीदेखि मलाइ यी रातहरु भयानक र डर- लाग्दा लाग्ने छैनन् । म पनि प्रत्येक रात भोलिका सुन्दर दिनहरुको कल्पना गर्दै सुत्छु र परिश्रमले आफ्नै देशमा मेरा सपना साकार पार्छु !