Pratikshya Regmi  featureप्रतिक्षा रेग्मी

हामी खुब ठुला कुरा गर्छौ ।  हामी आफूलाई २१औं शताब्दीका मान्छे भन्छौ।  यस्तो राम्रो छ, उस्तो राम्रो छ भनेर अरुलाई पाठ पढाउन पनि कहिल्यै पछि पर्देनौ। तर यही  समाजमा दिनहुँ घट्ने गरेका पशुवत क्रियाकलापप्रति भनौ मौन बसिदिन्छौ। हामीले  एक्काइसौं शताब्दीको मानव भनेर घमण्ड गर्ने कहिले सम्म?

नारीलाई भगवानस्वरुप मान-सम्मान दिएको भनेर कहिल्यै नथाक्ने, त्यही नारीमाथी गरिएको दानवीय व्यवहार कहिले सम्म हेर्ने हो ?
अहिलेको धेरैलाई थाहा भएको तात्तातो घटनालाई नै उदाहरणको रुपमा लिउं,
लक्ष्मी नेपाली लाई बोक्सीको आरोप लाउदै, समाजका सभ्य मानिने मास्टर, त्यो पनि सामाजिक शिक्षा नै पढाउने  शिक्षकले नै समाजको साथमा कुटपिट गरेर, पोलमा बाधेर दिशा खुवाएर, लात्ती , दाउरा सबैले थला पारेर उनलाई मृत्युको मुखमा पुर्याए।

उनी दुई छोराकी आमा, सारा बालबच्चाको लागि भगवान, तर समाजका राक्षसहरुले उनलाई रहन दिएनन। हो, यति हुनेबेलासम्म समाजले उनको पक्षमा कुरा उठाउनु त परै जाओस, उल्टै उनलाई कुटपिट गर्न सघाए।

अब म कसरी भनौं यो समाजमा मानवता छ भनेर जहाँ गल्ली-गल्लीमा नारीका लास भेटिन्छन अनि अझै उनिहरु नै दोषी ठहरिन्छन।

सुरु गरौं गर्भबाटै,
गर्भावस्थामा नै नारी छ भन्ने थाहा पाएपछी गर्भपतन गराउने प्रचलन अझै मरिसकेको छैन। त्यसैमाथी भाग्यवस गर्भबाट बचेर हुर्किदै ७-८ वर्ष पुगिभने फेरि नरपुरुषको सिकार हुन बाध्य हुन्छे ऊ।

एकतिर ऊ आफै सिकार भएकी हुन्छे अर्कोतर्फ समाजले पनि उसलाई नै अवहेलना गर्छ, उसलाई नै स्विकार्दैन। कस्तो उल्टो हाम्रो समाज, बलात्कारी पुरुषलाई खुलेआम हिड्न दिने अनि बलात्कृत नारीलाई इज्जत लुटिएकी नारी भन्दै हेप्ने।

कतिपय नारीहरुको त बलात्कार पश्चात् हत्या पनि भएको देखिन्छ। हत्या भए त ऊ त्यही सकिइहाली, नभएको भए दोब्बर मानसिक तथा शारीरिक तनाव सहन नसकेर, कत्ती नारीहरुले आफ्नो जीवनको बाटो त्यही अन्त्य गर्छन, अझैपनि हाम्रो समाजले उसलाई अपमान नै दिन्छ।

अनि अझै हुर्केका नारीहरु पनि मुक्त छैनन, जब समाजले मान्ने गरेको बिहे गर्ने उमेर कट्छ नि फेरि समाजमा गाइगुइं सुनिन थाल्छ- फलानी यस्ती-उस्ति, यस्तिलाई पनि कस्ले बिहे गर्थ्यो र, बिहे हुनै सकेन, यस्तै यस्तै। यहाँ बिहे गर्ने उमेर आफुले हैन समाजले तोक्दिन्छ, अनि फेरि गिद्देनजरले हेर्छ त्यही समाजले।
आजकल बैदेशिक रोजगारीका कारण धेरै पुरुषहरु विदेशमा हु्न्छन् । यहाँ फेरि ठाउँ पायो समाजले, उसलाई नानाथरी गाली-गलौज, तुच्छ-वचन, सबै पाउछे। त्यही समाजलाई देखाउन बच्चा पनि बेलैमा जन्माउनुपर्ने रे, नत्र फेरि अपमान तयारी अवस्थामा हुन्छ। बच्चा जन्मिन सकेन भने दुनियाँ अपशब्द उसैमाथी खनिन्छन अनि कि त जबर्जस्ति सहन्छ नत्र अर्को बिहे गर्छ उस्को श्रीमान। तर नारी भने श्रीमानको भक्त बनेर पुजा गरिरहन्छे। उसको श्रीमानले अर्को बिहे गर्यो वा उसको श्रीमानले उसलाई हेप्यो वा उसको श्रीमानले संसार छोड्योभने फेरि समाजले उसलाई एक्लो पार्छ।

अझ सबैभन्दा तुच्छ व्यावहार त एकल महिला (विधवा नारी) माथी भएको देखिन्छ, उसको श्रीमानको अभावमा ऊ आफैमा पनि शोकमा डुबिरहेकि हुन्छे, त्यो माथी समाजले उसलाई आफ्नो श्रीमान खाई अब घर खान्छे, समाज खान्छे, यो बोक्सी, यो ऊ, सबै खन्याउछ। जब उसलाई सबैभन्दा धेरै साथ चाहिएको हुन्छ नि घरपरिवार तथा समाजको, त्यो बेला उसले उल्टै अपमान भोग्नुपरेको हुन्छ। धेरै कहानी छन बोक्सीको आरोपमा आफ्नै घरपरिवार देखि समाजसम्म लागेर कुटपिट तथा हत्या गरेको। जो समाजका अलि शिक्षित बर्गमा पर्ने मान्छे हुन्छन नि, उनिहरु नै यस्ता घृणित कार्यमा संलग्न हुन्छन।

यसबाट बचेका केही नारी बृद्दआश्रमतिर पुगेका हुन्छन त्यो पनि आफ्नै सन्तानको माध्यमबाट त थोरै मात्रामा त्यस्ता भाग्यमानी नारी हुन्छन जो जीवनभर चोखो रहेर बुढेसकालमा आफ्नै सन्तानसंग हासीखुसी बाच्न पाउँछन्।

धेरै तिता-मिठा भोगाइ समेट्दै एउटा नारी मानवीय भन्दा पनि दानवीय व्यावहार धेरै भोग्छे आफ्नो जीन्दगीभर। आफ्नै आमा, दिदी-बहिनी, भाउजू-बुहारी, माथि पशुजन्य व्यावहार गर्दा के हामी मौन नै रहने हो त? के अझैपनि हामी एक्काइसौं शताब्दीका सभ्य नागरिक भन्दै धाक लाउदै बस्ने हो त?