१२ जेठ, काठमाडौं।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र एमालेको समिकरणमा नयाँ सरकार गठन हुन सक्ने सम्भावना रहेको संकेत गरेका छन् ।

आज भक्तपुरस्थित डा. इवामुरा अस्पतालद्वारा आयोजित भक्तपुर नगरपालिकाका मेयर उपमेयर लगायतका पदाधिकारीलाई बधाई तथा स्वागत कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेंले यस्तो संकेत गरेका हुन ।

सरकारले आचारसंहिता विपरित बजेट, नीति तथा कार्यक्रम ल्याएको बताउँदै उनले दोस्रो चरणको निर्वाचन अघि ल्याईएको बजेटले राजनीतिक दललाई घुस खुवाउन सजिलो हुने बताए ।

सरकारले निरङ्कुशता लादेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएकोले यो आचारसंहिता विपरित भएको दाबी गर्दै अध्यक्ष बिजुक्छेंले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागि नहुने बताए । उनले आफुहरु प्रतिपक्षमा बसेर जनताको हकअधिकार स्थापनाका लागि आवाज उठाउने बताए ।

सञ्चारकर्मीको एक जिज्ञाशामा अध्यक्ष बिजुक्छेंले दोस्रो चरणको स्थानीय तहको निर्वाचन भव्य र सभ्य रुपमा सम्पन्न गर्नुपर्ने र नेमकिपा निर्वाचनका पक्षमा रहेको बताए । उनले आजै डाक्टर इवामुरा अस्पतालको अवलोकन समेत गरेका थिए । कार्यक्रममा झक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, उपमेयर रजनी जोशी लगायत नगरका सबै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।