२२ फागुन, काठमाडौं।

कुनै जात्रा, आन्दोलन, मेला वा सभा जस्तै थियो, भृकुटीमण्डपस्थित प्रदर्शनी मार्ग। मान्छेको घुइँचो । नारा लगाइरहेका। स्टलबाट सित्तैमा जाकेट बाँडिरहेका। रोबोटले आफू नजिक आउने मान्छेलाई पर्चा बाँडिरहेको। ट्याक्सीमाथि राखिएको ठूलो स्पिकरबाट गीत बजिरहेको। सडकका दुवै भित्तामा पर्खाल र जाली देखिन्न फ्लेक्सले पूर्ण ढोकेको। भुइँमा कागजै–कागज। हिँडदा लच्किने। खचाखच रहेका मान्छेले अर्कोलाई भेट्नेबित्तिकै ‘ल है उहाँलाई सहयोग गर्नुपर्‍यो’ भन्दै अरूलाई पर्चा र भिजिटिङ कार्ड दिइरहेको। नारा लगाउँदै यता र उता गर्ने त कति हुन् कति।

यी सबै कांग्रेसको १३ औं महाधिवेशनमा शुक्रबार देखिएका दृश्य हुन्। महाधिवेशनको दोस्रो दिनसम्म आइपुग्दा कांग्रेसका उम्मेदवारहरूले आफ्नो प्रचारमा लाखाैं रुपैयाँ खर्च गरेको देखिन्छ। महाधिवेशनमा अहिले तीन प्यानल छन्, कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाको। एक प्यानलले अर्को प्यानल र एक उम्मेदवारले अर्कोलाई पछि पार्न लाखौं खर्चेर प्रचारप्रचार गरिरहेको देखिन्छ। महाधिवेशनबाहेक निजी जीवनमा रम्ने कांग्रेसका नेताहरूले आफ्नो प्रचारप्रसार गर्दा भने बीपी कोइराला कसैले भुलेको देखिएन।

बीपीको समाजवादलाई अघि सार्दै उनीहरूले ब्यानर, फ्लेक्स र भिजिटिङ कार्डको माथिल्लो भागमा सानो बीपीको फोटो र बीचमा आफ्नो ठूलो तस्बिर राखेर भोट मागिरहेका थिए। एक प्रतिनिधिले ठट्टा गर्दै भने, ‘सायद बीपी सबैभन्दा बढी छापिएको यो पटक नै होला । र, हाम्रा नेताहरूले सम्झेको पनि।’

प्रदर्शनी मार्गमा एडभान्स इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाएको रोबोटले युवा नेता प्रदीप पौडेलका लागि प्रचार गरिरहेको थियो। प्रतिनिधिहरू त्यो रोबोटको छेउमा पुगेपछि प्रदीपको उम्मेदवारीको बारे पम्प्लेट बाहिर निस्कन्थ्यो। उनीहरूले पम्प्लेट त लिन्थे नै साथमा करिब ९४ हजार रुपैयाँको लागतमा बनेको रोबोटसँग फोटोसमेत खिचाउँथें।

सडकको पेटीमै स्टल राखेका सिन्धुपाल्चोक कांग्रेसका सभापति मोहनबहादुर बस्नेतका सहयोगीहरूले उनलाई केन्द्रीय सदस्यमा जिताउन आएका हरेक मान्छेलाई नि:शुल्क ज्याकेट बाँडिरहेका थिए। उक्त ज्याकेटको अघि र पछि मोहनबहादुरलाई जिताऔं भन्ने देखिएको थियो। कान्तिपुर दैनिकमा खबर छापिएको छ।