१२ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकका वडा नम्बर ९ र १५ मा नेकपा (एमाले) विजयी भएको छ ।

महानगरको पछिल्लो मतगणनानुसार वडा नं ९ का वडाध्यक्षमा एमालेका रामकृष्ण श्रेष्ठ दुई हजार ५१७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशील गौतमले दुई हजार १५६ मत पाएका छन ।

महिला सदस्यमा सिर्जना भेटुवाल, दलित महिला सदस्यमा रचना सुनाम तथा खुला सदस्यमा टेकराज अधिकारी र श्रीराम राई विजयी भएका छन ।

त्यसैगरी वडा नं १५ मा ईश्वरराज डङ्गोल चार हजार ९०५ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु खरेलले दुई हजार २०२ मत प्राप्त गरेका छन । महिला सदस्यमा मैया महर्जन, दलित महिला सदस्यमा अनिता परियार तथा खुला सदस्यमा आनन्दराज गौतम र निमा तमाङ विजयी भएका छन ।

हालसम्म २९ वडाको मतगणना सकिएको तथा तीन वडाको नतिजा आउन बाँकी छ । महानगरपालिका नगर प्रमुखमा एमालेका विद्यासुन्दर शाक्यले ५७ हजार ९५७ मतका साथ अग्र स्थानमा रहेका छन भने उनलाई काँग्रेसका राजुराज जोशीले ४० हजार ६९० मतका साथ पछ्याइरहेका छन । विवेकशील पार्टीकी रञ्जु दर्शनाले २१ हजार ६३ मत प्राप्त गरेकी छन ।

हालसम्म एक लाख ७५ हजार ७२२ मतगणना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा एक लाख ९० हजार मत खसेको छ ।