१५ चैत, काठमाडौं।

उपत्यकामा बढेको वायु प्रदुषणबारे जनचेतना फैलाउने उद्धेश्यले विद्यार्थीहरुले रत्नपार्कमा व्यङ्गात्मक प्रदर्शन गरेका छन्। ‘स्वच्छ हावा बिक्रिमा’ नाराका साथ सेन्ट जेभियर्स कलेज माइतीघरमा दोस्रो वर्षमा सोसल वर्क (BSW) पढ्दै गरेका ४२ विद्यार्थीले वातावरणप्रतिको जिम्मेवारी बोध गराउन प्रदर्शन गरेका हुन।

काठमाडौंमा स्वच्छ हावाको कमी भएको भन्दै विद्यार्थीहरुले १० रुपैयाँमा कागजको झोलामा विरुवा सहित ‘स्वच्छ हावा’ बेचेका थिए। विद्यार्थीहरुले यसरी व्यङ्ग गरिरहँदा बाटोमा हिड्ने पैदलयात्रीको ध्यान तानिएको थियो। साथै उनीहरुले १० रुपैयाँमा ‘स्वच्छ हावा’को झोला समेत किनेका थिए।

कार्यक्रममा सहभागी भएका एक विद्यार्थी अंकित पोखरेल भन्छन, ‘हामीले गरेको कार्यक्रम सफल भएको छ। वायु प्रदुषणबारे हामीले उठाएका मुद्धामा पैदल यात्रीहरुले राम्रो चासो देखाए, कार्यक्रममा सहभागी भए।’


उनले भने, ‘वायु प्रदुषण कसरी रोक्न सकिन्छ भनेर धेरैले सल्लाह सुझाव दिनुभयो।’

लगभग २ घण्टा भएको कार्यक्रममा १०० भन्दा बढीले पैदल यात्रीले सहभागिता जनाएका थिए।