कुशल श्रेष्ठ
सबैले एक न एक चोटि भोगेकै कुरा हो- केहि शारीरिक समस्याको कारण अस्पताल गएपछि डाक्टरले औषधीको थुप्रो लगाइदिन्छन् अनि कुनैलाई खाना अघि खान भन्छन्, कुनैलाई खानापछि त कुनैलाई खानासँगै खान भन्छन्। सबै बिरामीले ‘हुन्छ’ भन्छन्, आखिर डाक्टरले भनेपछि त मान्नैपर्यो! तर कहिल्यै सोँच्नुभएको छ, कि किन कुनै औषधी खाना अघि, कुनै खानापछि त कुनै खानासँगै खानुपर्ने? जतिबेला पनि खाँदा हुँदैन र?
मुखले नबोलेपनि मनमनै सबैले एकचोटि सोध्ने प्रश्न हो यो- किन?
आज हामी तपाईँहरूको प्रश्नको उत्तर बताउन गैरहेका छौँ। औषधी खाने मूख्य तीन समय (खाना अघि, खानासँगै र खाना पछि) सँगै त्यसका तीन कारणहरू छन्।
१. खाना अघि
यो भनिदिऊँ कि हाम्रो पेट भनेको ‘एसिडले भरिएको झोला’ हो। अनि त्यो झोलालाई एसिडले नै असर नगरोस् भनेर भित्री भित्ताबाट निरन्तर रूपमा एसिडबाट बचाउने बाक्लो तरलपदार्थ निस्किने गर्छ।
अनि जब हामीले केहि खानेकुरा खान्छौँ, शरीरको हरमोन प्रणालीले हाम्रो पेटमा थप एसिड र थप रक्षात्मक तरल पदार्थ पैदा गराउँछ, जसले खाना पचाउन मद्दत गर्दछ।
त्यसैले, यदि हाम्रो पेटमा खाना पर्यो भने कुनै-कुनै औषधीले राम्रोसँग काम गर्न पाउँदैन। मतलब उक्त एसिड र बाक्लो तरल पदार्थले गर्दा औषधीको असरमा बाधा पुर्याउँदछ। यस्ता औषधीहरूलाई ग्यास्ट्रिक ग्याँसको वातावरण चाहिन्छ, जुन खाली पेटमा हुन्छ। त्यसैले गर्दा नै ‘ग्यास्ट्रिक’को औषधी खाली पेटमा खानको लागि डाक्टरहरू सल्लाह दिने गर्छन्।
२. खानासँगै
कुनै-कुनै औषधी यस्ता हुन्छन्, जसले काम गर्नको लागि खानाको जरुरत पर्दछ र खानासँगै खानुपर्ने हुन्छ। खानामा हुने पौष्टिक पदार्थहरूसँग प्रतिक्रिया गरेपछि मात्रै त्यो औषधीले राम्रोसँग काम गर्न सक्षम हुन्छ।
३. खाना पछि
कुनै-कुनै औषधी फेरि यस्ता हुन्छन्, जसलाई खाली पेटमा खानु हानिकारक मात्रै होइन खतरनाक पनि हुन्छ, जस्तै; पेनकिलर (सिटामोल, फ्लेक्सन, साइनेक्स, डि-कोल्ड, एसपिरिन, ब्रुफिन आदि)। किनभने यस्ता औषधीले पेटको भित्ताबाट बाक्लो तरल पदार्थ पैदा हुनबाट रोक्दछ। त्यसैले नै खाना खाइसकेपछि, मतलब पेटको भित्तामा रक्षात्मक तरल पदार्थ पैदा भैसकेपछि मात्रै यस्तो औषधी खानुपर्ने हुन्छ।
यस्ता औषधी खाना अघि नै खाली पेटमा खाँदा त्यस औषधीको प्रतिक्रियाले भित्ताबाट तरल पदार्थ पैदा हुनबाट रोक्दछ र एसिडले पेटको भित्तामा असर पुर्याउँदछ। जसको कारण पेट पोल्ने, रिँगटा लाग्ने, बान्ता हुने जस्ता साइडइफेक्टहरू देखिन्छन्।
कुनै औषधीलाई किन क्यापसुलमा राखिन्छ?
हाम्रो पेटले मात्रै सबै किसिमका औषधीहरू पचाउन सक्दैनन्। कुनै औषधीहरूले राम्रोसँग काम गर्नको लागि सबैभन्दा उचित ठाउँमा पुग्नुपर्ने हुन्छ, त्यो हो सानो आन्द्रा। अनि त्यो औषधी हाम्रो एसिडले भरिएको आमाशय (पेट) को बाटो हुँदै सानो आन्द्रामा पुग्नुपर्ने हुन्छ। सोहि एसिडले बीच बाटोमै औषधीलाई नपचाओस् भनेर नै क्यापसुलमा राखिएको हो।
जब हामीले क्यापसुलमा राखिएको औषधी खान्छौँ, तब पेटको एसिडले क्यापसुलको बाहिरी खोललाई पचाउँछ र बाँकी औषधी सानो आन्द्रासम्म पुग्न सफल हुन्छ, जहाँ त्यस औषधीलाई पचाउने काम हुन्छ।