कुशल श्रेष्ठ

एक/दुई किलो प्याँज अथवा लसुन किनेर घरमा ल्याउनुभयो, अनि १ हप्तापछि हेर्दा कुनै-कुनै अथवा सबै प्याँजमा हरीयो टुसा पलाउन थालिसकेको हुन्छ। सायद यो सबैले भोग्नुभएकै होला! कुनै-कुनै प्याँजको १ बित्ता लामो टुसा पलाएर पनि त्यहिँ बोट बन्न लागिसकेको हुन्छ। अब यस्तो प्याँजलाई के गर्ने? खान हुन्छ कि हुँदैन? रोप्ने पो हो कि? कि फालिदिऊँ?Is it safe to eat Onion Sprouts

आज हामी तपाईँहरूलाई यसै विषयमा केहि जानकारी दिन गैरहेका छौँ। किनभने कुनै-कुनै यस्ता सब्जीको टुसा पलाएपनि विषालु पदार्थमा परिवर्तन हुन थाल्दछ, जस्तै- आलु।

त्यसो भए- टुसा पलाएको लसुन वा प्याँज खान हुन्छ कि हुँदैन त?

मज्जाले खान हुन्छ! तर, यस्तो टुसा तरुण अवस्थामा छ भने मात्रै, यानिकी १० देखि १५ दिनसम्मको टुसा (२/३ इञ्च लामो) छ भने अवश्य खान हुन्छ। खान हुने मात्रै होइन, यो प्याँजको डल्लाभन्दा धेरै पोषिलो हुने गर्दछ। पूर्णरूपले विकसित प्याँजको डल्लाको भन्दा टुसाको स्वाद हलुका नरम हुने गर्दछ, जसलाई काटेर सलादको रूपमा अथवा तरकारी बनाउँदा फ्राइ गरेर पनि प्रयोग गर्न सकिन्छ।

यदि त्यसरी टुसा पलाएको प्याँजलाई घरमै रोप्न चाहनुहुन्छ भने त्यसमा कुनै पनि कीटनाशक तथा रसायनिक मलको प्रयोग नगर्नुहोस्। बरु भाञ्छाबाट निस्केका कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर प्याँज फलाउन सक्नुहुन्छ। यसरी फलेका प्याँज बजारमा पाइने प्याँजभन्दा धेरै स्वस्थ र फाइदाजनक हुन्छ।See if Onion Sprout has rotted before eating

टुसा पलाएको प्याँज खाँदा के फाइदा पाइन्छ त?

अङ्कुरित प्याँज खानुका थुप्रै स्वास्थ्य फाइदाहरू छन्। यसमा प्रशस्तै प्रोटिन पाइन्छ र यसलाई भिटामिन-ए, बी र सी को राम्रो स्रोत मानिन्छ। पोटासियम, फलाम र क्याल्सियम समेत पाइने प्याँजको टुसामा डल्ला प्याँजको तुलनामा बढि नै पौष्टिक तत्व लुकेर बसेको हुन्छ। किनभने कुनै पनि बिरुवा पलाउनका लागि त्यसलाई प्रशस्त पौष्टिक तत्वको खाँचो पर्दछ र त्यसले डल्ला प्याँजबाटै सोस्दै आफ्नो विकासको लागि प्रयोग गर्दछ।

  • यसमा हुन प्रोटिन हाम्रो शरीरका हरेक अङ्ग र कोषको लागि अत्यावश्यक तत्व हो। कपाल र नङ अधिकांश प्रोटिनबाटै बनेको हुन्छ। क्षय भएर गएका तन्तू र कोषहरूलाई मर्मत गर्न शरीरले प्रोटिनकै मद्दत लिने गर्दछ। छाला, मांशपेसी, हरमोन तथा रगत निर्माणको लागि प्रोटिनकै आवश्यकता पर्दछ।
  • प्याँज वा लसुनको टुसामा हुने भिटामीन-ए को मूख्य काम भनेको हाम्रो आँखाको दृश्यक्षमतामा सुधार ल्याउनु हो। त्यसका साथै यसले हाडलाई बलियो बनाउन, छालालाई स्वस्थ राख्न र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन पनि मद्दत गर्दछ।
  • हाम्रो शरीरलाई एक जटिल यन्त्रको रूपमा हेर्न सकिन्छ। जसरी त्यो यन्त्र राम्रोसँग चल्नको लागि नियमित मर्मतसंभार, तेल र इन्धनको आवश्यकता पर्दछ, त्यसरी नै हाम्रो यन्त्ररूपी शरीरलाई इन्धनरूपी भिटामिन-बी को आवश्यकता पर्दछ। यसले हाम्रो शरीरमा जति पनि अङ्गहरू छन्, सबैको स्वास्थ्यलाई हेरचाह गर्ने काम गर्दछ।
  • भिटामिन-सी लाई सबैभन्दा सुरक्षित र प्रभावकारी पौष्टिक तत्वको रूपमा मानिन्छ, जसले विशेष गरी हाम्रो प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई शरीरमा आउन लागेका सङ्क्रमण र रोगव्याधलाई हटाउने काम गर्दछ।
  • यसलगायत प्याँजको टुसामा पाइने अन्य पौष्टिक तत्वहरूले पनि हाम्रो शरीरमा अनेकौँ फाइदा गराउँदछ।

Onion Sprouts (2)

त्यसैले अब देखि कसैले उम्रेको प्याँज फाल्न लागेको छ भने उसलाई यी कुराहरू सम्झाएर त्यसलाई सेवन गर्न प्रोत्साहन गर्नुहोला। स्वस्थ जीवन जिउनका लागि ठूलो कदमको आवश्यकता पर्दैन। यस्ता-यस्तै स-साना कुराहरूलाई बानीको रूपमा बसाल्दै लगेपछि मात्रै स्वस्थ जीवनको सुरुवात हुन थाल्दछ।

यो पनि हेर्नुहोस्, राम्रा कुराहरू छन्-

उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा

दिसा लगाउने स्वस्थ खानेकुराहरू

ग्यास्ट्रिक र एसिडिटी एउटै होइन र? यसका घरेलु रोकथामका उपायहरू के-के छन्?

भाँच्चिएर निको भैसकेको हात फेरि दुख्न थालेको छ, के भयो होला?

यस्तो अवस्था भएका व्यक्तिले माछा पटक्कै खानुहुँदैन