विकाश श्रेष्ठ ।
१३ भदौ, सोल ।

वैवाहिक सम्बन्ध गाँसिदिने नाममा झुटो विवरण प्रस्तुत गरेको आरोपमा कोरियन प्रहरीले एक सय भन्दा बढी अन्तर्राष्ट्रिय म्यारिज ब्यूरोका दलाललाई नियन्त्रणमा लिएको छ । सोल मेट्रोपोलिटन प्रहरी एजेन्सीले मुलुकको विवाह दलाली व्यावसाय व्यावश्थापन ऐन उल्लंघन गरेको आरोपमा एक सय एघार जनालाई नियन्त्रणमा लिएको छ ।

ती दलालहरु माथि विवाह गर्ने पुरुषको भन्दा निक्कै कम उमेरका युवती मिलाइदिने प्रलोभन देखाएर एक जना कोरियन पुरुषबाट एक करोड पचास लाख वोन अर्थात बाह्र हजार सात अमेरिकी डलर सम्म लिएको आरोप लागेको छ । विवाह गर्ने पुरुषलाई केटीका बारेमा झुटा विवरण दिने गरेको आरोप पनि दलालहरु माथि छ ।

Korea arrest

नियन्त्रणमा लिइएका मध्ये एक एकहत्तर वर्षिय ली थरका दलालले गत जनवरीमा एक जना कोरियन पुरुषलाई बीस भन्दा बढी भियतनामी युवतीहरुको बारेमा झुटा विवरण दिएका थिए । दलालले विवाह गर्न खोज्ने कोरियन ग्राहकलाई युवतीको वैवाहिक अवश्था, स्वास्थ्य, पेशा र अपराधिक रेकर्ड लगायत वास्तविक विवरण नदिएर झुटो विवरण दिने गरेको आरोप प्रहरीको छ । कोरियामा विवाह दलाली व्यावसाय व्यावश्थापन ऐन अनुसार सम्बन्ध मिलाइदिने दलाल र निकायहरुले भावि दम्पती दुवैलाई एक अर्काको बारेमा वास्तविक जानकारी र वैधानिक कागजपत्रहरु उपलब्ध गराउनुपर्ने प्रावधान छ । जसले सम्बन्धीत देशका सरकारी निकायले प्रदान गरेका बैधानिक कागजपत्र र दुवैको पुर्ण विवरण नदिएर विहे गराइएको पाएमा दलाललाई तीन वर्ष सम्मको जेल सजाय र बीस लाख वोन जरिवाना हुन्छ । तर दलालहरुले कोरियन ग्राहकलाई युवतीको बारेमा उनको उमेर, नाम र शैक्षिक पृष्ठभुमिका बारेमा केही विवरण मात्र दिने गरेका छन् ।

कोरियन पुरुषलाई विदेशी केटी विवाह गरिदिने प्रचलन बढिरहेको बेला केही मानवअधिकारवादी संगठनहरुले महिलालाई उपभोग्य सामाग्री जस्तै कारोबार हुने गरेको भन्दै निन्दा गर्ने गरेका छन् । दलालहरुले झुटो विवरण दिएका कारण विवाह गरेर कोरिया प्रवेश गरेका विदेशी महिला एक दिनको बसाईपछि श्रीमान् छाडेर भाग्ने गरेको दाबी प्रहरीको छ । जसले गर्दा विदेशी केटीसँग विहे गर्ने प्रचलन वर्षेनी घटिरहेको छ ।

लैंगिक समानता र परिवार मन्त्रालयका अनुसार सन् दुइ हजार बाह्रमा एक हजार तीन सय सत्तरी जनाले अन्तरदेशिय विवाह दर्ता गराएको थिए । सो संख्या घटेर सन् दुइ हजार चौधमा चार सय उन्पचास पुगेको छ । गत जनवरीको रेकर्ड अनुसार कोरियन पुरुष वा महिला दुवैसँग विहे गर्ने प्रवासीहरुको संख्या तीन लाख पाच हजार चार सय छयालीस पुगेको छ । जसमा त्रियासी प्रतिशत महिला रहेका छन् । ती मध्ये धेरै जसो चीन र भियतनामका छन् ।

कोरियन पुरुषसँग विहे गर्ने नेपाली महिलाको संख्या चिनियाँ र भियतनामीको तुलनामा निक्कै कम छ । यद्यपी नेपाल सरकारले कोरियन पुरुषसँग विहे गर्ने नेपाली महिलाको यकिन संख्या भने सार्वजानिक गरेको छैन । नेपालका पनि दलालहरुले नक्कली र झुटा विवरण दिएर कोरियन पुरुषसँग विहे गरेका केही नेपाली महिलाले घरेलु हिंसा र दुव्र्यवहारको सास्ती खेपेको खबर बेला बेलामा सार्वजानिक हुने गरेको छ ।