१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील रहेको बताएका छन ।

माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा आज खेलाडीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुदको क्षेत्रमा सरकारले छिट्टै नयाँ योजना ल्याउन लागेको जानकारी दिए ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रधानमन्त्रीले भने, “खेल क्षेत्र निकै ठूलो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो समय नेपालले खेलकुदको क्षेत्रमा ठूला उपाधि प्राप्त गर्न थालेसँगै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको छ ।”

सरकारले खेलाडीको भावना र खेल क्षेत्रका समस्या सम्बोधन हुनेगरी नयाँ योजना ल्याउन लागेको समेत प्रधानमन्त्रीले जानकारी दिए ।

प्रवेशी खेलाडीलाई स्वागत गर्दै उनले भने, “तपाईहरु जुन विश्वासका साथ माओवादी आन्दोलनमा आउनुभएको छ, यसले हामीलाई उत्साही र गम्भीर बनाएको छ । राष्ट्र र जनताको प्रगति र विकासका लागि जिम्मेवारी थपिएको महसुस गरेको छु ।”

कार्यक्रममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी ध्वजमान मोक्तानसहितका दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रासस