नकुल गौतम

एकातर्फ आर्थिक समस्या र स्वरोजगारको अभाबमा नेपाली माटोमा हुर्केका लाखौ युवा तथा उर्बरा जनशक्ती अदक्ष कामदारको रुपमा विदेशी भूमिमा पसिना बगाउन बाध्य हुनपर्ने र घरमा बृद्ध तथा अशक्त बाबुआमा सहारा बिहिन अबस्थामा रहनुपर्ने तितो यथार्थ हाम्रा सामु छ भने अर्कातर्फ ज्येष्ठ नागरिक सम्बन्धी ऐन र नियमावलीमा ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुने, ज्येष्ठ नागरिकको सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, वा हकवालाले निजलाई आफू संगै राखी पालनपोषण तथा हेरचाह गर्नु पर्ने भनिए पनि उनीहरुको उचित हेरचाह र संरक्षण नभएको पाईएमा जेष्ठ नागरिकहरुबाट हकवाला वा परिवारका सदस्यहरुलाई प्राप्त भएका सम्पूर्ण सम्पतिको उपभोगमा प्रतिबन्ध लगाउन सक्ने जस्ता सामान्य कानुनी सन्तुलनको समेत व्यवस्था नभएको हुँदा जेष्ठ नागरिकहरु आफ्नै घरपरिवारमा अपहेलित भएर बाँच्न बाध्य हुने अबस्था छ ।

स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले तोकेको संख्याका ज्येष्ठ नागरिकले उपचार गराउदा लाग्ने शुल्कमा कम्तीमा पचास प्रतिशत छूट दिनु पर्नेछ भनिएको छ । प्राथमिकता , सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्था र तोकेको संख्या जस्ता ब्यबस्था अपारदर्शी र अब्यबहारीक छन । जबसम्म सिधै ज्येष्ठ नागरिक परिचयपत्रको आधारमा सेवा सुविधामा छूट दिने ब्यबस्था हुदैन तबसम्म ज्येष्ठ नागरिक सुबिधाबाट बन्चित रहने अबस्था छ ।

Nakul Gautam

आज विश्वका ४५ भन्दा बढी देशले ज्येष्ठ नागरिकको सम्मान तथा संरक्षणका लागि नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनसमेत गरिरहेका बेला नेपालमा भने ज्येष्ठ नागरिकले भोग्दै आएका गम्भीर समस्या धेरै छन । जुन समस्याप्रति राज्य र मुलुकमा रहेका राजनीतिक दल संवेदनशील देखिएनन् । हिजोका दिनमा परिवारमा मात्रै सीमित ज्येष्ठ नागरिकको बोझ क्रमशः परिवारबाहिर आउन थालेको छ । धमाधम अध्ययन र कामको सम्भावनाले विदेसिने युवाको लर्कोले ज्येष्ठ नागरिकलाई प्रत्यक्ष प्रभाव पारेको छ । अशक्त र बिरामी हुँदा औषधोपचारमा सघाउने तथा हेरचाह गर्नेको अभावमा कष्टकर जीवन जिउनुपरेको छ । ज्येष्ठ नागरिक राज्यको दायित्व अन्तर्गत पर्नुपर्ने हो तर, यो दायित्व पूरा गर्न राज्य कुनै किसिमले सवल छैन । एउटा युगको जीवन्त इतिहास र समाजको प्रेरणादायी तप्का जेष्ठ नागरिकको अधिकार संरक्षण गर्नु सरकारको प्रमुख दायित्व भए पनि उनीहरुलाई सरकारले उपेक्षा गरेको अवस्था छ । परिवार, समाज र राज्यको सेवामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सिंगो जीवन अर्पण गरिसकेका ज्येष्ठ नागरिकको सेवा, हक, हित र अधिकार संरक्षण गरी औषधी उपचारको प्रबन्ध र सम्मान उनीहरुका आधारभूत आवश्यकता हुन ।

ज्येष्ठ नागरिकका स्वास्थ्य सम्बन्धि समस्या केहि हदसम्म कम गर्न तथा स्वास्थ्य स्याहारका साथै पाका उमेरका नागरिकमा देखा पर्ने बिभिन्न प्रकारका रोगका बिशेषज्ञ संलग्न जेष्ठ नागरिक अस्पताल आजको आवश्यकता हो । आज राज्यले सामाजिक सुरक्षाको ग्यारेन्टी (पेन्सन वा अन्य) गरेकाका हकमा निजामती वा अन्य यस्तै प्रकृतिका अस्पताल स्थापना गर्ने निति निर्माताहरु जेष्ठ नागरिकका हकमा सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले तोकेको संख्याका ज्येष्ठ नागरिकले उपचार गराउदा राज्यको जेष्ठ नागरिक प्रतिको दायित्व पुरा हुने मानसिकतामा अगाडी बढेको अबस्था छ ।

१.विशेष रुपमा निम्न बर्ग र तप्काका जेष्ठ नागरिकका हकमा जेष्ठ नागरिक अस्पताल आवश्यक र सहयोगी हुन सक्ने छ ।

२. कुटो कोदाली र उकाली ओराली गर्दा गर्दै जिवनको अन्तिम अबस्थामा पुगेका राज्यले बिर्सिएका जेष्ठ नागरिकहरुका लागी सहयोगी हुनेछ जेष्ठ नागरिक अस्पताल ।

३. राजनैतिक नेता र उनका वरिपरी घुम्दाघुम्दै ६० कटेका तर सत्ताको स्वाद चाख्न नपाएका पिडित राजनितीक नेता जो जिवनको अन्त तिर निरास र बेसहारा हुन पुग्छन उनीहरुका लागी सहयोगी हुनेछ जेष्ठ नागरिक अस्पताल ।

४. आर्थिक रुपमा सम्पन्न भएर पनि बृद्धाबस्थाका कारण आफन्तबाट तिरष्कृत जेष्ठ नागरिक हरुका लागी सहयोगी हुनेछ जेष्ठ नागरिक अस्पताल ।

५. जेष्ठ नागरिक हरुको सेवा गर्नुपर्छ भन्ने सन्ततीका अभिभावकका लागी हो जेष्ठ नागरिक अस्पताल ।

६. विदेसिएका छोरा छोरीको कमाइमा आश्रित ज्येष्ठ नागरिकले पर्याप्त पैसा साथमा हुँदाहुँदै पनि परिआउँदा गुहार्ने ठाउँ छैन । अशक्त र बिरामी हुँदा औषधोपचारमा सघाउने तथा हेरचाह गर्नेको अभावमा कष्टकर जीवन जिउनुपरेको छ । यो समुहका जेष्ठ नागरिक हरुका लागी पनी सहयोगी हुनेछ जेष्ठ नागरिक अस्पताल ।

जेष्ठ नागरिकको सामाजिक सुरक्षा र स्वास्थ्य सुरक्षा
जेष्ठ नागरिकको सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य सुरक्षाको क्षेत्रमा देशका निती निर्माताको बिषेश चासो रहेको पाईदैन । उच्चतहका ब्यक्तिहरुको हकमा देश भित्रै रहेका कुनै पनि अस्पतालमा बिषेशज्ञ टिमबाट बिषेश आतित्थ्यका साथ उपचार हुने अबस्था छ । देश भित्र उपचार नभए बिदेशमा पनि उपचार सम्भब छ । निजामती लगायत अन्य सरकारी सेवामा काम गरिसकेकाहरुको हकमा आर्थिक सामाजिक सुरक्षाकालागी निबृतीभरण र स्वास्थ्य सेवाकालागी निजामती अस्पताल,सैनिक अस्पताल,प्रहरी अस्पताल आदि स्थापित छन । अन्य जेष्ठ नागरिकको हकमा सामाजिक सुरक्षा अन्र्तगत स्वास्थ्य सुरक्षाका लागि अब आबश्यक रहेको छ जेष्ठ नागरिक अस्पताल ।

सहभागी बनौ जेष्ठ नागरिक अस्पताल स्थापनाको यात्रामा
जेष्ठ नागरिक स्वास्थ्य सेवालाई जति जति सामाजिक सञ्जालमा प्रबेश गराउन सकिन्छ त्यतिनै बढी गुणस्त्तरिय सेवा सन्चालन गर्न सकिने कुरा निर्बिबाद छ । हिजोको परिस्थिती आज रहेन, भोलिको विकासक्रम आज भन्दा बेग्लै हुन सक्छ । जेष्ठ नागरिक अस्पताल स्थापनाको यात्रालाइ प्रभाबकारी बनाउने सिलसिलामा निजी, सार्बजनिक तथा समुदायका क्षेत्रमा क्रियाशिल समुहको सहभागिता नितान्त आवश्यक छ । जसको लागि स्थानिय संघ संस्था, ब्यापारी, बुद्धिजिबी र अन्य सरोकारवाला निकायसंग आग्रह छ हामी संग गैरनाफामुलक जेष्ठ नागरिक अस्पताल स्थापनाका लागी आबश्यक जग्गा र योजना छ, आउनुहोस सहभागी बनौ जेष्ठ नागरिक अस्पताल स्थापनाको यात्रामा र जेष्ठ नागरिक स्वास्थ्य सुरक्षाको बातारण श्रृजना गरौ ।
धन्यबाद

सामाजिक तथा बिकास रुपान्तरण–नेपाल