२० मंसिर, दोलखा । सुत्केरी व्यथा लागेकी गर्भवती बोकेर सदरमुकाम आउँदै गरेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

जिल्लाको उत्तरी लादुक गाविस–५ की गर्भवती महिला नीता ठकुरीलाई बोकेर जिल्ला अस्पताल आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दोलखा सिगँटी सडकको सुनखानी गाविस–४ स्थित सित्का नजिक दुर्घटना हुँदा नीता, श्रीमान् दिपेश र जेठानी सीता घाइते भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरेर सदरमुकाम ल्याइएकी नीताको राति नै सुत्केरी गराइसकिएको र आमा र शिशुको अवस्था सामान्य रहेको चरिकोट अस्पतालका डा विनोद दङ्गालले जानकारी दिए ।

घाइते दिपेश र सीताको अवस्था सामान्य रहेको बताइएको छ ।