२४ भदौ, हुम्ला । हुम्लामा द्वन्द्वकालमा राखेको सकेट बम घर भित्रै बिष्फोट हुँदा दुई वर्षीय बालक घाईते भएका छन् । विष्फोटले उनका बाबुको दाहिने आँखा पनि गुमेको छ ।
घरको माथिबाट सामान झार्ने क्रममा सकेट विष्फोट हुँदा गुठी–१, कलसका ३३ वर्षीय लालबीर रोकाय गम्भीर घाईते भएका हुन् । लालबीरको शरीरका विभिन्न स्थानमा सकेट बमका छरा लागेका छन् ।

उनका २ वर्षीय छोरा लव रोकायलाई सकेट बमले छातीमा चोट लागेको छ । लवको अवस्था सामान्य छ । मेलथाम–४, लामा गुम्बास्थित फेद नामक संस्थामा लालबीरले उपचार गराई रहेको अवस्थामा प्रहरीले घटनाका बारेमा जानकारी पाएको थियो । सो जानकारी पाउने वित्तिकै उनलाई उपचारका लागि नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

भदौ–२० गते लालबीरले आफ्नै घरको माथिल्लो तलाबाट सामान निकाल्ने क्रममा द्वन्द्वकालमा राखेको सकेट बम पड्किँएको थियो ।