७ चैत, काठमाडौँ ।

उत्तरको छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान आगामी बिहीबार नेपालको तीनदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा उनको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नाका साथै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग भेटवार्ता गर्नेछन् । रक्षामन्त्री चाङले भूकम्पबाट क्षति भएका वसन्तपुर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गर्ने बताइएको छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो तथा सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले राससलाई जानकारी दिए । नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ । रासस