एजेन्सी । चीनको युलिन शहरमा विवादित ‘डग मिट फेस्टिवल’ अर्थात कुकुरको मासु खाने महोत्सव सुरु भएको छ । गुवाँग्शी प्रान्तमा प्रत्येक वर्ष मानिसहरु कुकुरको मासु खान एकजुट हुने गर्छन् ।

यो वर्षको सुरुवातमा जनावर अधिकारवादीहरुले कुकुरको मासु विक्री गर्न प्रशासनले प्रतिबन्ध लगाएको बताएका थिए । तर महोत्सवमा स्टल राखिरहेका व्यापारीहरुले भने आफूहरुलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

महोत्सवमा कुकुर काटेर झुण्ड्याएको दृश्य देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । चीनमा कुकुरको मासु खाने प्राचिन परम्परा हो ।

दक्षिण कोरियाका मानिसहरु पनि कुकुरको मासु खान्छन् । गर्मी महिनामा कुकुरको मासु खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

मासु नखानेहरुले पनि परम्पराको पक्षमा वकालत गर्ने गरेका छन् । जवसम्म मानवीय तरिकाले कुकुरलाई मारिन्छ तब सम्म ठिकै रहेको उनीहरुको प्रतिक्रिया छ ।

तर जनावर अधिकारवादीहरुले भने कुकुरलाई साना पिँजडामा राखेर अन्यत्रै शहरबाट ल्याइने र क्रुरतापूर्वक मार्ने गरेको बताउँदै आएका छन् । कतिपय ठाउँमा घरपालुवा कुकुर समेत मासुका लागि चोरिने गरेको उनीहरुको आरोप छ ।