१२ भदौ, काठमाडौं ।

आगामी निर्वाचनहरुलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निजी विद्यालयहरुका छाता संगठनहरु तथा शिक्षा मन्त्रालय र शिक्षा विभागका प्रतिनिधिहरूले निर्वाचनसम्बन्धी गतिविधिमा कलिला बालबालिकाहरूको प्रयोग गर्न नदिनेसम्बन्धीे प्रतिबद्धतापत्रमा आज हस्ताक्षर गरेका छन् ।

निर्वाचन आयोगले गरेको कार्यक्रममा प्रमुख आयुक्त डा.आयोधीप्रसाद यादव, आयुक्तद्वय इला शर्मा, इश्वरीप्रसाद पौड्याल, निमित्त सचिव दीपक सुवेदीसहितको उपस्थितिमा उनीहरुले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

आयोगमा आयोजित छलफलमा प्रमुख आयुक्त यादवले स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा विभिन्न दल तथा उम्मेदवाहरुले कलिला बालिबालिका प्रयोग गरेको  जानकारी प्राप्त भएपछि त्यस्ता गतिविधि रोक्नका लागि आवश्यक निर्देशन दिएको बताए ।

यस्तो छ प्रतिबद्धता

स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधारशीला भएको हुँदा निर्वाचनले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्ने, शासनको सवलीकरण गर्दै  सुशासनमा टेवा पु¥याउने विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै मुलुकमा हुन गइरहेको तेस्रो चरणको स्थानीय तह एवम् प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ मा कलिला बालबालिकाहरूलाई कुनै पनि निर्वाचनको गतिविधिमा प्रयोग नगर्न/नगराउन सबै राजनीतिक दलसँग हार्दिक अपील गर्दर्छौ ।

हामी कुनै हालतमा हाम्रा कलिला बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग गर्न दिने छैनौं भनी यो प्रतिबद्धता जाहेर गर्दछौं । साथै प्रतिबद्धतालाई सूचनाको आधार मानी सम्पूर्ण विद्यालयका शिक्षक÷शिक्षिका, प्रधानाध्यापक, प्राचार्य र अभिभावकज्यूहरूलाई समेत बालबालिकाहरूलाई निर्वाचनसँग सम्बन्धित कुनै प्रकारका राजनीतिक गतिविधिमा प्रयोग नगर्न र नगराउनसमेत हार्दिक अनुरोध गर्दछौं । यसका साथै हामीहरू निर्वाचन आयोगले जारी गरेका निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्ने पूर्ण प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।