२८ भदौ, लहान। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले तेश्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएकामा आपत्ति जनाएका छन् ।

आगामी असोज २ गते प्रदेश नं २ मा हुन लागेको स्थानीय तह निर्वाचनबारे अनुुगमन गरिरहेका सदस्य पाठकले आज सिरहाको लहानमा पत्रकार सम्मेलन गरी विभिन्न राजनीतिक दल तथा उम्मेदवारबाट चुनावी प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने सुझाव दिए ।

“चुनाव हुन गइरहेको २ नं प्रदेशको विभिन्न जिल्लामा अनुगमन गर्दा चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ,” उनले भने – “तत्काल सो कार्यलाई रोक्नु जरुरी छ ।” गाउँगाउँमा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नहुदा मत बदर हुने सम्भावना बढ्नसक्नेप्रति चिन्ता व्यक्त गर्दै उहाँले मतदाता शिक्षा सञ्चालन गर्न सुझावसमेत दिए ।

यस्तै उहाँले अनुगमनका क्रममा कतिपय मतदान केन्द्र खुल्ला चौरमै राखिएको पाइएकाले ती मतदान केन्द्र सुरक्षित र घेरबार भएको स्थानमा सार्नसमेत आग्रह गरे।

निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको पाइएपनि ग्रामीण क्षेत्रमा बाटोघाटो क्षतिग्रस्त रहेकाले तत्काल मर्मत गर्नुपर्ने स्थिति रहेको पनि उनले उल्लेख गरे । रासस