संविधान बन्नै लाग्दा एक पछि अर्को बन्द त कतै बन्द माथि बन्दले जनता आजित भएका छन् । तर बन्द, बन्द हुन सकेको छैन । संविधानको मस्यौदाले जातीय÷राष्ट्रिय पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षतालाई नै धरापमा पार्ने काम गरेको भन्दै चार मधेस केन्दीत दलले आज भदौ एक गतेदेखि अनिश्चितकालका लागि तराई मधेस थरुहट बन्द आब्हन गरेका छन् । के बन्दको अरु विकल्प खोज्न सकिन्न ? प्रस्तुत छ यसै विषयको सेरोफेरोमा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णसँग नेपाली हेडलाइन्सका लागि बोमलाल गिरीले गरेको कुराकानीः

नेकपा माओवादीसँग दुई दिन नेपाल बन्द गर्नुभयो । त्यहाँ व्यापक विरोध भएको थाहा पाउनु भएन र फेरी अनिश्चितकालिन बन्द आब्हान गर्नुभएको हो ?
बन्दले जनतालाई कष्ट दिन्छ भन्ने हामीलाई थाहा छ । तर जनताको अधिकार प्राप्तीका लागि सबैभन्दा मजबुत बाटो यही हो । जहाँ तानाशाह सरकार हुन्छ र लोकतान्त्रिक पद्धती हुँदैन, त्यहाँ अरु आवाज त्यो तानाशाही सरकारले सुन्दैन । त्यसलाई बाध्य पार्ने उपाय यही हो ।

Laxman lal karn

शान्तिपूर्ण आन्दोलनमा सरकारले गोली बर्साको छ, लाठि बर्साको छ, लगेर थुनेको छ र कुटपिट गरेको छ । सरकारको गलत व्यवहार र जनता प्रतिको रबैका कारण सरकारको वर्वर काम प्रति जनताको सन्तुष्टि रहेन । त्यसैले हामीले जनताको अधिकार प्राप्तीको आन्दोलन प्रति सरकार बर्बर रुपमा प्रस्तुत भएकाले हामीले आन्दोलनलाई अनिश्चितकालिन बनाऔं ।

तपाईहरुले सरकार र केही दलका नेतालाई दवाव दिन खोज्नु भएको होला । त्यो दवावले सरकारलाई छुँदैन । बरु बन्द प्रति आजित भएका जनताले त्यसको प्रतिकार गर्न थालिसकेका थिए । अनि झनै अनिश्चितकालका लागि बन्द गर्नुभयो भने त्यसको प्रतिकार नहोला ?
तपाई केवल काठमाण्डौलाई मात्र हेरेर समग्र मुलुक यही हो भन्नुहुन्छ भने त्यो अनुचित होला । यदि काठमाण्डौ मात्र देश हो र त्यहाँका मात्र जनता हुन भन्नुहुन्छ भने अलग प्रश्न हुन्छ । तर समग्र देश हेर्नुहुन्छ भने दुई दिनको आन्दोलनमा खेती किसानी काममा लागेका जनता हजारौंको संख्यामा उपस्थित भएका छन् । यो राज्यलाई दुख दिन खोजेको हो । सरकार आफ्नो व्यवहार सपारोस् भन्न खोजेको हो । तर तपाईले भनेको यो कुराले त सरकारलाई होइन, जनतालाई छुन्छ । त्यसका लागि हामी जनतासँग क्षमा माग्छौं । किनकी अधिकार प्राप्तीको लडाईमा जहाँ हतियार उठाईन्छ त्यहाँ त एक दिनमा केही हुँदैन भने शान्तिपूर्ण आन्दोलनमा समय लाग्नु सामान्य हो । प्रशव कालमा जाति दुःख भए पनि बच्चा आनन्दले आउँछ भने आमालाई त्योभन्दा शुखद अरु केही हुँदैन । आजको हाम्रो यो लडाई पनि अन्तिम लडाई हो । फेरी लडन र मर्न नपरोस् भनेर लडिरहेका छौं ।

भन्न त हरेक आन्दोलनमा त्यही भनिन्छ, यो अन्तिम लडाई हो जनताले अव फेरी दुःख पाउने छैनन् भनिन्छ, तर त्यो त देखिएन । त्यसको साटो जनतालाई सहि कुरा बुझाउने, दलहरुसँग वार्ता गरेर बन्दको विकल्प खोज्न सकिन्न ?
जहाँ लोकतान्त्रिक सरकार हुन्छ त्यहाँ संसदमा एक जनाले मात्र कुरा उठाउँदा पनि त्यसको सम्बोधन हुन्छ । तर यहाँ जनता मारियो, बाढी पहिरो आयो भनिन्छ भनिन्छ वा संविधानका यी कुरा नराम्रा भए भनिन्छ भने राज्य नै मेरो हो भन्ठान्ने चार दलका ४ नेताले कुरा सुनेनन् । त्यस्तो अवस्थामा अरु विकल्प थिएन ।

अनि तपाई लाग्छ देशभरीका जनताले तपाईको यो बन्दमा साथ दिन्छन् ?
अहिलेसम्म साथ दिइरहेका छन् । जनताले दुख पाउँछन् । जनताले दुख पावस् नै भनेका हौं । दुख पाउन, अन्तिम लडाई होस् भन्ने चाहन्छौं हामी । यो राज्य वेइमान भो, तानाशाही भयो । संसार भरीका मान्छे लडेका छन् । नयाँ कुरा होइन । फरक यत्ति हो कतै शान्तिपूर्ण त कतै हतियारले ।

अति तपाईहरुले जनतालाई हतियार उठाउ, लड, भिड भनेर उक्साउनु कत्तिको जायज हो ?
जनालाई बन्दुक उठाउ, हतियार उठाउ भनेको छैन । त्यो अनर्गल प्रचार हो । बरु जनता आफै भनिरहेका छन्, मेरो घरमा लठि र भाला छ म लिएर आन्दोलनमा आउँछु भनिरहेका छन् । त्यो जनताको इच्छा हो । ल्याउने बेलामा ल्याउँछन् यो वेइमान सरकार विरुद्ध लड भनेको हो ।

laxman lal karna1

तर तपाईले होइन भने पनि त्यसको अडियो टेप संसदमा पुगिसक्यो ।
अरे बाबा । त्यो संसदमा पुरयाउन आवश्यक नै छैन । कस्ता रैछन् यी गृहमन्त्री ? हिम्मत भए कारवाही गरेर देखाए भए भैगो नि । संसदमा पुरयाएर के गर्ने ?

छानविन गर्ने होला नि संसदमा लगेर ।
संसद बाहिरका जनतालाई कारवाही गर्छ संसदले ?

संसदमा रहेकालाई संसदले नै छानविन गर्ने होला नि ?
अनि दुईवटा कारवाही हुन्छ ? यस्तो पनि कारवाही हुन्छ ? हिमम्त भए कारवाही गरोस् न हामीलाई । थुनिन्छ, लाठि खाइन्छ भनेर डराएर आन्दोलन गरया हो र ? डराउने भए आन्दोलन गर्ने नै थिएनौं । ४० सालदेखि आन्दोलन गरिरहेका छौं ।

तपाईको पार्टीका अध्यक्षले कैलालीमा गएर बोलेको कुरा, जो संसदसम्म पनि पुग्यो, त्यसलाई तपाई के भन्नुहुन्छ नि ?
बिल्कुल ठिक बोल्या हो ।

त्यहाँ त हतियार उठाउनुस् भनेर सदभाव भड्काउने काम गरेको हो पनि भनिएको छ नि । त्यो पनि जायज हो ? त्यो त गलत प्रचार हो ? सत्य चाँही के हो त ?
हामीले अडियो सुनेका छौं । तपाईलाई राज्यले अन्याय गरयो, कम्लहरी, कमारो, दास, हलिया बनायो । अहिले पनि दास बनाउन खोज्दैछ । त्यसबाट मुक्तिका लागि हरेक किसिमको लडाई तपाईहरुले लड्नु पर्छ भनेको छ ।

कुनै बेला सहकार्यमा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले त तराई मधेसका जनता र दलले चित्त दुखाउनु पर्ने छैन । बरु थारुहरुका कुरा समेटिएका छैनन भन्नुभएको छ नि त्यो गलत नै बोल्नु भएको हो त ?
गच्द्धदारले के बोल्छन्, जनताले त्यसलाई वास्ता गरेका छैनन् । वास्ता गरेको भए सबै कुरा सकिन्थ्यो । उहाँ सप्तरीदेखि पर्सासम्मको प्रदेशलाई उहाँ मधेसमा एउटा प्रदेश दिएको भन्नुहुन्छ । उहाँ त उहाँको एउटा जिल्लालाई वा उहाँकै घरलाई एउटा प्रदेश बनाए पनि एक मधेस एक प्रदेश भइहाल्छ । मधेस भन्या त्यत्ति हो ? त्यसैले गच्छदारले आफ्नो अभिष्ठ पूरा गर्न के के बोल्नुहुन्छ उहाँलाई थाहा होला । उहाँको पनि पार्टी छ । पार्टीमा विद्रोह भइरहेको छ । उहाँको कुरा कति सत्य असत्य हो तयो जनताले र उहाँको पार्टीका नेताले मुल्यांकान गर्छन ।

अनि सप्तरीदेखि पर्सासम्म ८ जिल्लाको प्रदेश प्रति तपाईहरुको भनँई के छ नि ?
त्यो एकदम गलत बनाएको हो । मधेसलाई ६ टुक्रामा बाँड्न हुन्न र उत्तर दक्षिण बनाउन हुन्न ।

तर त्यहाँका जनता त हामीलाई पूर्व पश्चिम होइन उत्तर दक्षिण चाहियो भनेको कुरा चाँही बुझ्नु भएन कि क्या हो ?
त्यो कांग्रेस र एमालेका ४ जनाले भनेर बक्तब्य दिएमा आन्दोलन हुन्छ ?

तपाईका चार जनाले गर्दा हुने उनीहरुका चार जनाले गर्दा नहुने ?
हाम्रा चार जनाले भनेको भए जनमत संग्रह गरौं भन्दा कांग्रेस एमालेका नेता किन भागे त ? माधव नेपाल र प्रचण्ड किन भागे ? त्यहीका जनताको भोटले जिताएको होइन माधव र प्रचण्डलाई ।

उत्तर दक्षिण नभए २ नम्बर प्रदेश सबैभन्दा कम्जोर हुने भयो भनिरहेका छन् त्यहीका जनताले ।
त्यो बिल्कुल गलत हो । त्यहाँका जनताले त्यसो भन्दैनन् ।