२७ माघ, जनकपुरधाम । धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ ।

जनकपुरधाममा आज बसेको सर्वपक्षीय भेलाले सो माग गर्दै आगामी वैशाख २१ मा हुने जानकी नवमीलाई सरकारी र निजीस्तरबाट भव्य किसिमले मनाउनुपर्नेमा जोड दिएको छ ।

भेलाले माता जानकीको जन्म र विवाह दिनमा सरकारीस्तरबाट हालसम्म कुनै कार्यक्रम, सहयोग प्राप्त नभएका कारण जनकपुरधाम धार्मिक पर्यटकीय दृष्टिकोणले पछाडि परेकाले उक्त दुवै दिनमा सरकारीस्तरबाट पनि सहयोग र सभागिताका लागि आग्रह गरिएको छ ।

सरकारीस्तरबाट जानकीलाई राष्ट्रिय विभूति घोषणा गरिए पनि सो अनुरूपको महत्व नदिएकाले माता जानकीको जन्म र विवाह दिन ओझेलमा परेकोतर्फ समेत ध्यानाकर्षण गराइएको छ ।

भेलाले जानकी मन्दिरका सहायक महन्त रामरोशन दासको अध्यक्षतामा मूल समारोह समिति गठन गर्दै नौदिने जानकी नवमी उत्सव मनाउने निर्णय गरेको छ । भेलाले जानकी नवमीमा छठिहार उत्सव, शोभा यात्रा, जानकी कथा प्रवचन, जानकी दर्शन विचार गोष्ठी, कवि गोष्ठी, विशेष जानकी आरती, विद्यालयमा जानकी बन्दना, विशेष सांस्कृतिक कार्यक्रम, दूधमती स्नान र दीपोत्सव मनाउने निर्णय पनि गरेको छ । रासस