एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताहरुले जीका भाइरस मानिसमा हुने मस्तिष्क क्यान्सर उपचारमा प्रयोग गर्न सकिने नयाँ तथ्य पत्ता लगाएका छन् ।

भ्रुणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाईरसलाई विश्वव्यापी स्वास्थ्य खतराका रुपमा लिँईदै आएको थियो । तर पछिल्लो अनुसन्धानबाट जीका भाइरसले जवान मानिसहरुमा हुने मस्तिष्कको क्यान्सर उपचार गर्न सकिने अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ ।

मस्तिष्कको ‘ग्लीओब्लास्टोमा’ क्यान्सर हुँदा तीब्र गतिमा बढ्ने ट्युमर केमोथेरापी र रेडियोथेरापीप्रति प्रतिरोधी भएकाले उपचार गर्न निकै मुस्किल रहँदै आएको छ ।

मुसाहरुमा गरिएको प्रारम्भिक अध्ययनमा जीका भाइरसले ब्रेन क्यान्सर स्टेम सेललाई निशाना बनाएको छ जसले ट्युमर पुनः पलाउनबाट रोक्ने बताइएको छ । तर अहिलेसम्म मानिसहरुमा भने यो परीक्षण गरिएको छैन ।