कुशल श्रेष्ठ

हामी बच्चा हुँदा कतै ठोस्सिएर चोट लाग्यो भने रुँदै आमालाई भन्ने गर्थ्यौँ, आमाले सोध्नुहुन्थ्यो- “कता दुख्यो मेरो राजा?” तर हामीलाई ठ्याक्कै थाहा हुन्थेन कि, कता के भयो? बस, दुख्थ्यो मात्रै अनि पीडामा मुख चिम्स्याउँदै दुखेजस्तो भएको ठाउँमा औँला तेर्स्याउँथ्यौँ। तर अचम्मको कुरा- कसरीकसरी औषधीले हामीलाई दुखेको ठाउँ ठ्याक्कै पत्ता लगाएर सञ्चो गराउँदछ।How Do Painkillers know where we're hurt

तर, कसरी?

या भनौँ न, सञ्चो गरेजस्तो लाग्छ! वास्तवमा भन्ने हो भने, पेनकिलरको जादुलाई बन्दुकको गोली भन्दा पनि राइफलको छर्रा भन्दा उचित हुन्छ। हामीले औषधी खान्छौँ, पेटमा पुग्छ अनि त्यहाँ भएको एसिडले त्यसलाई टुक्र्याएपछि चाहिने रसायनिक पदार्थ पेटको भित्तामा भएका कोषहरूले सोस्न थाल्दछ।

अब त्यो रसायन हाम्रो सारा रगतमा छर्रिएर बग्न थाल्छ, त्यसलाई थाहा हुँदैन हामीलाई कहाँनेर दुखेको छ। त्यसले त जहाँ-जहाँ ‘दुखाई’को प्रक्रिया भेट्छ, त्यहिँ-त्यहिँ आफ्नो जादु गर्छ अनि अर्को दुखाई भएको ठाउँ खोज्दै बग्छ। यो प्रक्रिया औषधीमा भएको रसायनिक पदार्थको मात्रा नसिद्धिञ्जेलसम्म चलिरहन्छ।

दुखाई चाहिँ कसरी चिन्छ त?

हाम्रो स्नायु प्रणाली (दिमाग) लाई दूरसञ्चारको केन्द्रीय कार्यालयसँग तुलना गर्नुभयो भने बुझ्न अलि सजिलो पर्दछ। दूरसञ्चारसम्म हजारौँ, लाखौँ सिग्नल पुगिराखेका हन्छन्, जसमध्ये कुनै-कुनै सिग्नलले नेटवर्कको व्यस्तता अथवा सम्पर्कबिच्छेदको जानकारी बोकेको हुन्छ। त्यसैलाई दूरसञ्चारको केन्द्रीय कार्यालय (हाम्रो दिमाग)ले ‘दुखाई’को रूपमा बुझ्दछ। जसरी यस्ता सिग्नलहरू दूरसञ्चारमा विद्युतीय तरङ्गको रूपमा देखा पर्दछन्, त्यसरी नै हाम्रो दिमागमा ‘दुखाई’को सिग्नल पनि विद्युतीय तरङ्गकै रूपमा पुग्दछ, जुन अन्य सिग्नलभन्दा भिन्नै हुन्छ।

यदि केन्द्रीय कार्यालयको पीडालाई कम गर्न चाहने हो भने अब त्यहाँ थुप्रै उपायहरू अपनाउन सकिन्छ। जस्तै; सिग्नललाई रोक्ने, सिग्नल पठाउने माध्यममा बाधा पैदा गराउने अथवा सिग्नलमा नै खलबल मच्चाउने। यदि त्यसले पनि पुगेन भने, केन्द्रीय कार्यालयको प्रमुखलाई नै बेहोस् बनाउन पनि सकिन्छ।

विभिन्न प्रकारका पेनकिलर औषधीहरूले पनि यस्तै धाराबाट काम गर्दछन्। कुनै यस्ता प्रकारका औषधी हुन्छन्, जसले स्नायुलाई असर नगरी दुखाईको सिग्नलको तरङ्गलाई कम गराउँदछ, कुनैले दुखाईको तरङ्गलाई दिमागसम्म पुग्न दिँदैन, कसैले दिमागलाई दुखाईको सिग्नल लिन भुलाउँदछ। यदि यी सबैले काम गरेन भने अब डाक्टरहरूले ‘एनेस्थेटिक्स’ (Anesthetics) को सहारा लिन्छन्, जसले कि बेहोस गराउँछ, कि दुखेको ठाउँलाई लट्ठ बनाउँछ।

त्यसैले वास्तविक कुरा गर्नुपर्दा, पेनकिलरले दुखाईलाई कम गर्ने होइन, बरु दिमागसम्म पुग्ने दुखाईको सिग्नल खोज्दछ अनि त्यसलाई ब्लक गर्ने, ध्वस्त पार्ने अथवा खलबल मच्चाउने गर्दछ। त्यसैले गर्दा नै कुनै-कुनै पेनकिलर खाँदा रिँगटा लाग्ने, झ्याप बनाउने गर्दछ।

यो पनि हेर्नुहोस्-
पेनकिलरको काम गर्ने ५ खानेकुरा
डाक्टरले भनेअनुसारको सबै एन्टिबायोटिक्स खानु किन जरुरी हुन्छ?
कुनै औषधी खानाअघि त कुनै खानापछि खानुपर्छ, तर किन?
निन्द्रा लगाउने औषधी खानै पर्छ र? नखाँदा के हुन्छ?
बिना औषधी नवजात शिशुको ज्वरो कम गर्ने उपाय