एजेन्सी ।

जिम्बावेको सेनाले सत्ता आफ्नो हातमा लिएको छ। बुधबार  सरकारी प्रशारण संस्थालाई नियन्त्रण गरेको सेनाले सत्ता हत्याएको हो। सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई घरैमा नजरबन्द गरिएको छ।

अफ्रिकन युनियन एयुले जिम्बाबेको पछिल्लो राजनीतिक घटनाक्रमलाई कू को संज्ञा दिएको छ । सेनाले शक्ति आफ्नो हातमा लिनु र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राख्नु सैन्य ‘कु’ जस्तै भएको उसले जनाएको छ । एयुका प्रमुख एल्फा कोन्डेले जिम्बाबियन सेनाको कामकारबाही रोकी तत्काल संवैधानिक व्यवस्था लागू गर्न आग्रह गरेका छन् ।

तर सेनाले भने ‘कू’ नगरेको बताउँदै आएको छ । उसले राष्ट्रपति मुगाबे सुरक्षित रहेको र उनीमाथि आतंकाकारी आक्रमणको खतरा रहेकाले सुरक्षा घेरामा राखिएको दाबी गरेको छ । कतिपय विश्लेषकहरुले भने उपराष्ट्रपति इमरसन मनंगावालाई सत्तामा ल्याउनका लागि सैन्य कारवाही गरिएको हुन सक्ने बताएका छन् ।

राष्ट्रपति मुगाबेले उपराष्ट्रपति मनंगावालाई गएको हप्ता मात्र बर्खास्त गरेका थिए । त्यसपछि मुगाबेकी श्रीमती ग्रेस उत्तराधिकारीको रुपमा उदाएकी थिइन । तर सेनाले राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेमा नजरबन्दमा राखेर शक्ति आफ्नो हातमा लिएपछि अवस्था फेरिएको छ ।।