७ भदौ, एजेन्सी ।

अमेरिकाको एक अदालतले औषधिजन्य सामाग्री उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनलाई ४१ करोड ७ लाख डलर क्षतिपुर्ति तिर्नुपर्ने आदेश दिएको छ ।

६३ वर्षीया इभा इचेभर्रिया नामकी एक महिलाले उक्त कम्पनीको टेल्कम पाउडर प्रयोग गर्दा पाठेघरको क्यान्सर भएको दावी गर्दै दायर गरेको मुद्दाको फैसलामा अदालतले क्षतिपूर्ति दिन आदेश दिएको बिबिसीले जनाएको छ ।

इचेभर्रियाले ११ वर्षको उमेरदेखि आँफुले जोन्सन एन्ड जोन्सन कम्पनीको टेल्कम पाउडर प्रयोग गर्दै आएको भन्दै सोहि पाउडरका कारण आफ्नो पाठेघरमा क्यान्सर भएको बताएको समाचारमा उल्लेख छ ।

अमेरिकाका विभिन्न अदालतमा जोन्सन एण्ड जोन्सन कम्पनीविरुद्ध शृङ्खलाबद्ध सुनुवाई हुँदै आएको छ । अमेरिकी ईतिहासमा नै यो अहिलेसम्मकै ठुलो जरिवाना रकम भएको बताईएको छ ।

यसअघिदेखि नै हजारौँ महिलाले टेल्कम पाउडरको प्रयोगले पाठेघरको क्यान्सर भएको दावी गर्दै न्युजर्सीस्थित कम्पनीको मुख्यालयमा प्रर्दशन गर्दै आएका छन् । तर कम्पनीका प्रवक्ता क्यारोल गुडरिचले अदालतको फैसलाबिरुद्ध अपिल गर्ने प्रतिक्रिया दिएका छन् ।