८ माघ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएपछि अमेरिकामा बन्द उद्योग, व्याप्त अपराध र विफल शिक्षा प्रणालीका दुष्परिणामबारे बोल्दै आफ्नो कार्यकालले त्यसमा परिवर्तन ल्याउने प्रतिवद्धता जनाएका छन्।

उनले उनकै शब्दमा अमेरिकाको ध्वंस यही बेला र यही ठाउँबाट रोकिने बताए। ट्रम्पका हजारौं समर्थकले उनको शपथको साक्षी बन्न देशभरका थुप्रै ठाउँमा खुशियाली मनाएका थिए।
उनले शपथ लिएको क्षणसंगै धनाढ्य उद्योगपतिको विवादास्पद चुनावी प्रचारपसारपछिको अकल्पनीय ठानिएको यात्राको अन्त्य भएको छ। शपथ ग्रहणको कार्यक्रम लगत्तै ट्रम्पले देशको ४५ औं राष्ट्रपतिको रुपमा कार्यकारीको हैसियतले केही प्रारम्भिक हस्ताक्षरहरु गरेका छन्।

उनले आफ्नो मन्त्रिपरिषदका सिफारिसलाई सिनेटमा पठाएका छन् भने देशभक्ति सम्बन्धी राष्ट्रिय दिवस मनाउनेबारे पनि उनले घोषणा गरेको सञ्चार अधिकारीले जनाएका छन्।

उनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल जेम्स म्याटिसलाई उनको नियुक्तिका लागि उनले जागिर छाडेको अवधि नपुग्ने भए पनि कानुनमा केही छुट दिने गरी हस्ताक्षर गरेका छन्। सिनेटले उनको सहित अवकाशप्राप्त जेनेरल जन केलीलाई होमल्याण्ड सेक्युरिटि मन्त्रीमा अनुमोदन गरेको छ।

ह्वाइट हाउसको वेबसाइटमा ओबामाका नीतिहरुलाई ट्रम्पका नयाँ एजेन्डाले विस्थापित गरेको देखिएको छ। ट्रम्प प्रशासनले वेबसाइटमा जम्मा ६ वटा मुद्दाहरुलाई सूचीकृत गरेको छ जसमा उर्जा, विदेश नीति, रोजगारी र वृद्धि, सेना, कानुन र व्यापार सम्झौता रहेका छन्।

आलोचकहरुले वेबसाइटमा नागरिक अधिकार, समलिंगी अधिकार, स्वास्थ्यसेवा र जलवायु परिवर्तनबारे केही उल्लेख नभएको बताएका छन्। ट्रम्पलाई प्रधानन्यायाधीश जन रोबर्टसले शपथ दिलाएपछि ट्रम्पले सम्बोधन गरेका थिए।

उनले आफ्नो अन्तिम सास रहेसम्म जनताका लागि लड्ने र उनीहरुलाई कहिल्यै कमजोर महसुस हुन नदिने बताए। उनले यसभन्दा अघि कहिल्यै नभए जसरी अमेरिकाले पुनस् एकपटक जित्ने बताए।

उनले रोजगारीका अवसर, देशको सीमा, अमेरिकाको वैभव र सपना फिर्ता ल्याउने बाचा गर्दै भने, ूमिलेर हामी अमेरिकालाई फेरी गर्ववान्वित बनाउनेछौं। हामी फेरि अमेरिकालाई सुरक्षित बनाउने छौं। र हो हामी अमेरिकालाई फेरि एकपटक महान् बनाउनेछौं। धन्यवाद। भगवानले तपाईँहरुको रक्षा गरुन्। र अमेरिकाको रक्षा गरुन्।ू

ट्रम्पले संसदमा भएको दिवाभोजका क्रममा संक्षिप्त बोल्दै डेमोक्रेटिक पार्टी तर्फकी प्रत्यासी हिलरी क्लिन्टन र उनका पति पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई धन्यवाद दिए।

उनको धन्यवादपछि हिलरी दम्पतीले ताली बजाएका थिए। उनले आफ्नो सम्बोधनमा वासिङ्टनका राजनीतिज्ञहरुले बेवास्ता गरेका र बिर्सिएका मानिसहरुको आवाज आफू बन्ने बाचा गरे। उनले आजको दिन अमेरिकाका जनता पुनस् आफ्नो देशको शासक बनेको बताए।