१६ कात्तिक, काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा केही जिल्लामा पार्टीको उम्मेदबार विरुद्ध बागी उम्मेदबारी परेको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले तनहुँमा उम्मेदवारी दर्ता गरेका छन् । भ्रष्टाचारको आरोप लागेका जोशीले पार्टीवाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदबारी दिएका हुन् ।

नेकपा एमालले टिकट नदिएपछि दाङमा गायिका कोमल ओलीले स्वतन्त्र उम्मेदबारी दर्ता गराएकी छन् । शुरुमा एमालेले दाङ तीन नंवर क्षेत्रमा प्रत्यक्ष्यतर्फको उम्मेदबार बनाउने घोषणा गरेपनि अन्तिममा टिकट नपाएपछि ओलीले स्वतन्त्र उम्मेदबारी दर्ता गराएकी हुन् ।

काठमाडौ ६ नंवर क्षेत्रमा पनि माओवादीका नेता झक्कु सुवेदी विरुद्ध एमालेका लव कुमार बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ललितपुरमा पनि माओवादी केन्द्रमा विवाद भएपछि वाम गठबन्धनको उम्मेदवार विरुद्ध मोर्चाबन्दि भएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी बिरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । वाम तालमेल भएका केही जिल्लामा भएको असन्तुष्टी र वागी उम्मेदवारबारे विवरण संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।