१ असोज, स्याङ्जा।

युवा वैज्ञानिक विकल्प ढुंगानाले आविष्कार गरेको सोलार स्कुटरको स्याङ्गजामा प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबार स्याङ्गजा जिल्ला बजारमा रहेको त्रिभुवन आदर्श उच्च माध्यामिक विद्यालयमा सम्पन्न भएको कार्यक्रममा उनले स्कुटर र सोलार कारको मोडल समेत प्रदर्शन गरेका थिए ।Solar Scooter 2

अनेरास्ववियु स्याङ्गजा निर्वाचन क्षेत्र नं. १ क्षेत्रिय कमिटीको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले वैकल्पीक केन्द्रीय सदस्य सीता सुन्दासले विकल्प जस्ता युवाहरुले नै देशलाई समृद्ध बनाउन सक्ने बताए ।

कार्यक्रममा उनको स्कुटर हेर्न जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरु तथा स्थानियबासीहरुको ठूलो घुइँचो लागेको थियो ।

तनहुँ मनपाङ घर भइ विगत केही वर्षदेखि पोखरामा बस्दै आएका विकल्पले गत वर्षको युवा प्रतिभा पुरस्कार समेत जितेका थिए । उनले गृहजिल्ला तनहुँ लगायत काठमाडौं, पोखरा जस्ता ठाउँहरुमा समेत आफ्ना आविष्कारहरुको प्रदर्शनी गरिसकेका छन् ।

यस अघि नै उनले हेलिकप्टर, बम डिस्पोजेबल रोवर्ट, भूकम्प सुचक यन्त्र, म्यानुयल लोडिङ्ग एण्ड लिफ्टिङ्ग रोबर्ट, घाँस काट्ने मेसिन, धान ठटाउने रोबर्ट, फुटबल खेल्ने रोबर्ट लगायत डेढ दर्जन यन्त्रहरुको आविष्कार गरिसकेका छन् ।