२३ जेठ, काठमाडौं ।

सत्ता र शक्तिको लागि जस्तोसुकै हर्कत गर्न सिपालु भनेर कहलिएका कांग्रेस सभापति शेरबहादुर देउवा यस अघि तीनपटक प्रधानमन्त्री भइसकेका छन् । तर, तीनपटककै उनको कार्यकाल विवादमुक्त हुन भने सकेन । तीनैपटक देउवा केही न केही विवाद र विकृति भित्र्याएको जस्ता बद्नाम राजनीतिको पर्याय बन्न पुगेको विरोधीहरुले बताउँदै आएका छन् ।

पहिलो पटक देउवा २०५२ मा देउवा प्रधानमन्त्री भएकै बेला माओवादी जनयुद्धका लागि भन्दै जंगल पस्यो । तत्कालीन माओवादीेले देउवालाई ४० बुँदे ज्ञापनपत्र बुझाए पनि यसलाई सम्बोधनका लागि पहल नगरेपछि माओवादी जंगल पसेको बताइन्छ ।

यता यही सरकार टिकाउन देउवाले सरकार टिकाउनका लागि जम्बो मन्त्रिपरिषद बनाउदेखि सांसदहरुलाई पजेरो संस्कृतिसमेत भित्र्याएको आरोप छ । सांसदहरुलाई भन्सारमा छुट गरी पजेरो किन्न दिने व्यवस्था देउवाले गरेको भन्दै उनीमाथि विकृति भित्र्याएको आरोप लाग्ने गरेको छ । देउवाले पहिलो कार्यकालमैं सत्तालाई टिकाउनका लागि ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएपछि विवादित भए । उनीमाथि त्यतिखेर सत्ता टिकाउनका लागि सांसद खरिद गरेको आरोपसमेत लाग्यो ।

दोस्रो कार्यकाल २०५८
शक्तिमा खेल्न सिपालु देउवा २०५८ सालमा पुनः दोस्रोपटक प्रधानमन्त्री बन्न पुगे । यो कार्यकाल त देउवाको लागि झन् विवादित बन्न पुग्यो । देउवा प्रधानमन्त्री भएकै बेला सुरु भएको माओवादी जनयुद्ध झन् उत्कर्षमा पुग्यो । देउवाले निर्वाचनका लागि भन्दै संसद नै विघटन गरिदिए । संकटकाल लम्बाउने निर्णय गरेपछि कांग्रेसले उनलाई साधारण सदस्यबाटसमेत निकालिदियो । उनले लगत्तै नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर, राजाले उनलाई निर्वाचन पनि गर्न नसकेको भन्दै असक्षम घोषणा गरे ।

सक्षम बनाइए पनि फेरि फालिए
तत्कालीन राजा ज्ञानेन्द्रले असक्षमको पगरी गुथिदिएका देउवालाई २०६१ सालमा पुनः सक्षमको पगरी गुथ्दै प्रधानमन्त्री बनाइदिए । तर, प्रधानमन्त्री हुँदासमेत देउवाले निकास दिन सकेनन् । उल्टै प्रधानमन्त्री भएको ८ महिनामैं राजाले १९ माघमा प्रजातन्त्र निमोठ्दै सत्ता नै आफ्नो हातमा सुम्पिए । त्यसपछि राजाविरुद्ध सबै दलमात्र होइन विद्रोही माओवादीसमेत एक ठाउँमा आएपछि २०६२÷६३ को जनआन्दोलनले राजा नै फालिदियो । २०६४ सालको संविधानसभा निर्वाचनअघि कांग्रेसमा देउवा मिल्न पुगे ।

फेरि परीक्षामा देउवा
प्रधानमन्त्रीजस्तो शक्तिशाली पद तीनपटक चलाउँदा राजनीतिक अवस्था सौहार्द बनाउन नसकेका देउवा चौथोपटक प्रधानमन्त्री बन्दै गर्दा फेरि परीक्षामा देखिएका छन् । उनीसामू अहिले स्थानीय तह, प्रदेश, संघीय संसदको निर्वाचन गर्नुपर्ने, संविधान संसोधन गर्नुपर्ने जस्ता कार्यभारलाई सममयैं पूरा गर्नेपर्ने दायित्व छ । झण्डै दुई तिहाई मतले प्रधानमन्त्री बन्दै गरेका देउवालाई सहजतापूर्वक यी काम गरेर विगतको कालोलाई सेतोमा बदल्ने स्वर्णिम अवसर छ । यस अवसरलाई देउवाले कसरी सफलतामा परिणत गर्छन् त्यो त उनको कार्यशैलीले नै देखाउँनेछ ।