९ असार, काठमाडौं ।

हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घन्टा बन्द हुने भएको छ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्ने भएकाले बन्द गर्न लागेको जनाएको छ ।

दिउँसो साढे ४ बजे देखि ५ बजे सम्म बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । पूर्वाभ्यास अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान अवतरण ठप्प हुनेछ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था आइकाओको नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले हरेक दुई वर्षमा यस्तो अभ्यास गर्नुपर्ने हुन्छ । विमानस्थलले आजको तयारीका लागि हिजो बेलुकी १५ मिनेट पूूर्वाभ्यास गरेको थियो ।

विमानस्थलभित्र कार्यरत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र मेडिकल टिमको समन्वयमा अभ्यास गरिँदैछ । विमानस्थल नजिक बाँसको विमान बनाइएको छ ।

त्यसमा बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिनेछ । अभ्यासका क्रममा विमानस्थलले यस पटक जहाज दुर्घटनाका एक घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल धापासीसम्म पुर्याइने जनाएको छ ।