१३ फागुन, काठमाडौं
त्रिभुवन विश्वविद्यालय विरुद्ध विद्यार्थीहरुले रिट दायर गर्ने भएका छन्। परीक्षामा अप्रत्यासित रुपमा धेरै विद्यार्थीहरु फेल भएपछि बीबीए पढ्दै गरेका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय विरुद्ध रिट दायर गर्ने तयारी गरेका हुन्। बिहिबार बीबीए अन्तर्गत चौथो सेमेस्टरको प्रकासित परीक्षाफलमा अप्रत्यासित रुपले ४० प्रतिशत भन्दा बढी विद्यार्थी फेल गराइएको र विद्यार्थीको क्षमता बेवास्ता गर्दै नतिजा निस्कासन गरिएको भन्दै विद्यार्थी आक्रोसित भएका हुन।

सामान्य भन्दा महिना दिन ढिलो गरी प्रकाशित परिक्षाफलमा फेल भएका ४० प्रतिशत विद्यार्थीमध्ये ९० प्रतिशत साइकोलोजी विषयमा मात्र फेल भएको विद्यार्थीले बताएका छन् । नेपाल महेन्द्र बहुमुखी क्याम्पसमा अहिले सातौँ सेमेस्टरमा पढ्दै गरेका विशाल कोइरालाले नेपाली हेडलाइन्ससंग भने, ‘रेगुलर टप १० भएकाहरु पनि फेल भएका छन्। ९० प्रतिशत विद्यार्थी साइकोलोजीमा मात्र फेल गराइएको छ।’

आज सार्वजनिक बिदा र भोली शनिबार सबै संस्था बन्द हुने भएकाले आइतबार त्रिभुवन विश्वविद्यालयसंग पेपर पुन: जाँच गर्न दबाव दिइने उनले बताए। ‘पेपर रि-चेक नभए मात्र रिट निवेदन दिने तयारी गरेका छौ’, उनले भने। देशभरी अध्ययनरत १६ सय बीबीए पढ्ने विद्यार्थी र काठमाडौंका विभिन्न क्याम्पसका शिक्षकहरु पनि आफुहरुको साथमा रहेको उनीहरुके दावी छ ।

स्ववियू चुनावको घोषणा पछि हतार हतार पेपर चेक गर्दा यसरी त्रुटी भएको हुन सक्ने उनी लगायत बीबीए पढ्ने विद्यार्थीहरु बताउँछन्।