९ माघ, काठमाडौं।

सुटिङबाट फर्कने क्रममा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । ‘पर्व’ फिल्मको सुटिङ सेटबाट फर्कदै गर्दा काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र सोही फिल्मका सह-निर्देशक सुरेश न्यौपाने चढेको भ्यान दुर्घटनामा परेको हो ।

बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको फिल्म ‘पर्व’का निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ ।

भ्यान दुर्घटनामा परेका सह-निर्देशक सुरेशले भने, ‘हामी चढेको भ्यान शंखमुलबाट पुरानो बाँनेश्वरतर्फ जाँदै थियो, बबरमहलतिरबाट आएको ट्याक्सीले नयाँ बानेश्वर चोकमै ठक्कर दियो । हाम्रो गाडी घुमेर बबरलमहलतिर फर्केको थियो ।’

सुरेशको खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् । आगामी चैत्र २५ गते प्रदर्शनमा आउने तयारी गरेको फिल्मको छायांकन भैरहेको छ ।