२८ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोटको सटही आजदेखि शुरु गर्दैछ । राष्ट्र बैंकका कार्यालय र राष्ट्र बैंकले तोकेका बैंकका शाखाबाट आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने राष्ट्रबैंकले जनाएको छ ।

यस वर्ष एक जनाले २७ हजार रुपैयाँ सम्मको नयाँ नोट साट्न पाउनेछन् । राष्ट्र बैंकसँगै सरकारी स्वामित्व रहेका नेपाल बैंक लिमिटेड, कृषि विकास बैंकले पनि आफ्ना शाखाहरुबाट नयाँ नोट दिने छन् ।

नेपाल बैंक र कृषि विकास बैंकबाट भने अधिकतम २० हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाइने छ । नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु काठमाडौका न्युरोड, बलाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुरबाट सटही गर्ने सुविधा दिइएको छ ।

त्यस्तै सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्सालबाट समेत नयाँ नोट साट्ने सक्ने व्यवस्था गरिएको छ ।

कृषि विकास बैंकका शाखा कार्यालय गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिर पनि आजैदेखि नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकले दशैंका लागि ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको व्यवस्था गरेको छ ।