१४ असार, सोलुखुम्बु ।

जिल्ला निर्वाचन कार्यालयका कर्मचारी बिहान ६ बजे तिर नै मतदान स्थलमा पुगेका थिए । उनीहरु अहिले पनि मतदान स्थलमै छन् । तर कर्मचारीले मतदाता कुरेको ९ घण्टाभन्दा बढी समय भइसकेको छ । तर मतदानका लागि दिनभर ढ्वाङ थापेर बस्दा पनि एउटा समेत मत खस्न सकेन ।

२३७६ मतदाता रहेको सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ को समाचार हो यो । एक  पनि मतदान गरेको छैन । उनीहरुले मतदाता परिचयपत्र पनि लगेका छैनन् ।

अझै पनि मतदान हुन सक्ने आशमा निर्वाचन कार्यालयका कर्मचारी उनीहरुलाई कुरेर बसिरहेका त्यहाँबाट पत्रकार भोजराज कार्कीले जनाएका छन् । तर उनीहरुले कुनै पनि हालतमा मतदान नगर्ने घोषणा गरेका छन् ।

यस्तो छ चुनाव वहिस्कारको कारण
उनीहरु कुनै पार्टीको कार्यकर्ता भएर अनि चुनावमा भाग नलिने पार्टीको नीति भएकाले चुनावमा सहभागि नभएका होइनन् । उनीहरुको पिडा अर्कै छ ।

त्यहाँका मतदाताले सरकारको विरोध गर्दै मतदानमा सहभागि नभएका हुन् । आफूहरुको इच्छा विपरित अपायक पर्ने गरी साविकको तिङ्ला गाविसलाई नेचा गाउपालिकामा समावेश गरिएपछि उनीहरुले शुरुदेखि नै विरोध गरिरहेका थिए ।

नेचा गाउपालिकामा अपाएक पर्ने भन्दै उनीहरुले साविकको तिङला गाविसलाई सोलु दुधकुण्ड नगरपालिकामा राख्नु पर्ने माग गरेका थिए । स्थानीय पत्रकार कार्कीका अनुसार तिङलाबाट नेचा पुग्न झण्डै ५ घण्टा हिड्नु पर्छ भने दुई घण्टा हिडेरै सोलु दुधकण्ड नगरपालिका पुग्न सकिन्छ ।

नेपाली कांग्रेसका सांसद दलबहादुर केसीको षडयन्त्रका कारण आफूहरुलाई अपायक पर्ने गाउँपालिकामा समावेश गरिएको नेचावासीको भनाई छ । त्यसका विरुद्ध उनीहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराए । सदरमुकाममा आन्दोलन गरे । अनि एक हप्तासम्म बन्द नै गरे ।

तर मागको सुनुवाई नभएपछि चुनाव वहिस्कारको नीति अंगालेको नेचावासीको भनाई छ । उनीहरुले मतदान वहिस्कार गरेका मात्र होइनन्, कुनै पनि उम्मेदवारलाई उम्मेदवारी दिन समेत दिएनन ।

ज्ञान बहाादुर राई र बल बहादुर विश्वकर्माले स्वतन्त्र रुपमा उम्मेदवारी दिने प्रयास नगरेका पनि होइनन्, तर नेचावासीको दवाव र उम्मेदवारी दिए सामाजिक वहिस्कार गर्नेसम्मको चेतावनी पछि उम्मेदवारी दिने आँट उनीहरुले गरेनन् ।

तिङलामा ३ हजार ९ सय २४ जनसंख्या छ भने ४ गाविस मिलेर बनेको नेचा सल्यान गाउँपालिकाको जनंख्या १६ हजार १२९ छ । आज मतदानको दिन पनि उनीहरुले आनन्दले खेतवारीमा काम गरिरहेका थिए ।