काठमाडौं, ८ जेठ । सरकारले दुईवटै संविधानसभाका सदस्यहरुलाई पदकबाट विभूषित गर्ने भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई विभूषित गर्न लागेकी हुन् । जेठ १६ गते हुने विशेष समारोहमा दुवै संविधानसभामा सदस्य रहेकालाई पदक वितरण गरिने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुलाई ‘संविधानसभा पदक’ प्रदान गरिनेछ ।

मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रममा सहभागी हुन संविधानसभाका सबै सदस्यहरुलाई आग्रह गरेको छ । गृहका अनुसार राष्ट्रपति कार्यालय, शीतलनिवासमा हुने कार्यक्रममा सुशोभन समारोहको प्रवेशपत्र पाएकाले मात्र प्रवेश पाउने छन् । प्रवेशपत्र बिना प्रवेश निषेध भएकाले जेठ १४ गतेसम्म सुशोभन समारोहको प्रवेशपत्र लिन मन्त्रालयले सबै पूर्व सभासदलाई आग्रह पनि गरेको छ ।