२७ साउन, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि साउन मसान्तभित्र उम्मेदवारको टुंगो लगाई अन्तरघात हुन नदिने रणनीति बनाएको छ । पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत् नतिजा नआउनुमा अन्तरघात प्रमुख कारक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले यस्तो रणनीति बनाएको हो । आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनावका लागि उम्मेदवारको टुंगो छिट्टै लगाएर सम्भावित असन्तुष्टि व्यस्थापन गर्ने तयारीमा कांग्रेस जुटेको हो ।

गत मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले साउन २९ गतेसम्म दुई नम्बर प्रदेशका सबै जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाइसक्न जिल्ला समितिलाई निर्देशन दिने र साउन मसान्तभित्रै सबै तहमा उम्मेदवारको टुगों लगाउने निर्णय गरेको थियो । आजको नागरिकमा खबर छ ।

तर बिहीबारसम्म २ नम्बर प्रदेशका ५ जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा नआएको कांग्रेस पार्टी कार्यालय सचिव प्रेम केसीले बताए । उनले भने, ‘सम्भवतः भोलि (शुक्रबार) सम्म सबै जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा आउँछ । हामीले उम्मेदवारको सिफारिस चाँडो गर्न जिल्ला समितिलाई ताकेता गरिरहेका छौं ।’

कांग्रेस केन्द्रीय सदस्य फुरमुल्लाह मन्सुरले दुई नम्बर प्रदेशमा अन्तरघात हुनै नसक्ने गरी उम्मेदवार चयन गरिने बताए । ‘पार्टी सभापतिले अन्तरघात गर्नेमाथि कठोर कारबाही गर्ने बताइसक्नुभएको छ । त्यसैले अन्तरघात शन्यूमा झार्ने प्रयासमा छौं,’ मन्सुरले भने, ‘पहिलो र दोस्रो चरणको चुनावमा कांग्रेसले अपेक्षाकृत कम भोट ल्याउनुमा अन्तरघात पनि प्रमुख कारण रहेको हामीले बुझेका छाै‌।’

प्रचार नीति दुई चरणमा
कांग्रेसले दुई नम्बर प्रदेशमा हुने चुनाव प्रचारका लागि उम्मेदवारी मनोनयन गर्ने दिनसम्म एउटा स्वरूपमा र मनोनयनपछि चुनावको दिनसम्म अर्को स्वरूपको रणनीति तयार पारेको छ ।

केही दिनअघि कांग्रेसनेता रामचन्द्र पौडेलको संयोजकत्वमा पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन परिचालन समिति बैठकले चुनावी तयारी अघि बढाउन दुई नम्बर प्रदेशका कांग्रेसका गाउँ, नगर, क्षेत्रीय समिति तथा भ्रातृ संगठनलाई सक्रिय बनाउने निर्णय गरेको छ । साथै दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गरेका सांसद र केन्द्रीय नेताहरूलाई सबै तहमा पठाउने निर्णय पनि बैठकले गरेको थियो ।

उम्मेदवारी मनोनयन गर्ने दिन भदौ २१ गतेसम्म एक किसिमको कार्यक्रम तय गर्ने र भदौ २१ पछि अर्को कार्यक्रम तय गर्ने निर्णय भएको निर्वाचन परिचालन समितिका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए । दुई नम्बर प्रदेशका १ सय २७ वटै स्थानीय तहमा केन्द्रीय नेताहरूलाई खटाउने निर्णय भएको छ ।

कांग्रेसले केही दिनमै वीरगन्जमा बृहत् भेला गर्ने भएको छ । कांग्रेस नेता श्याम घिमिरेले दुई नम्बर प्रदेशको चुनावलाई पार्टीले प्रतिष्ठाको विषय बनाएको बताए ।

कांग्रेस नेताहरूले दुई नम्बर प्रदेशमा सय सिट जित्ने दाबी गरेका छन् । केही दिनअघि काठमाडाैँमा भएको दुई नम्बर प्रदेशको भेलामा नेताहरूले सय सिट ल्याउने प्रतिबद्धता जनाएका थिए । कांग्रेसका जनकपुर नगर सभापति मनोज साहले भने, ‘हामी सय सिट ल्याउँछौं । दुइ नम्बर प्रदेश कांग्रेसको पहिलादेखि बलियो ठाउँ हो,’ उनले भने।