३१ असार, चितवन । स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।

भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन खर्च पेश गर्न दिएको समयमा ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेका छन् । भरतपुर महानगर बाहेकका एक हजार ५१९ उम्मेदवारमध्ये ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने प्रावधान भए पनि आधा बढी उम्मेदवारले खर्च विवरण पेश नगरेको कार्यालय प्रमुख हरि ढकालले जानकारी दिए ।

भरतपुर बाहेकका ६ स्थानीय तहका ७९९ जना उम्मेदवारले निर्वाचन खर्च पेश गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । केन्द्रमा विवरण पेस गर्दा समयमा बुझाएको र नबुझाएको छुट्टाछुट्टै खुलाएर पठाइने ढकालले बताए ।