१९ साउन, भक्तपुर ।

गुरुपूर्णिमाको विषयलाई लिएर भक्तपुरको दुई क्याम्पसमा विद्यार्थी सङ्गठनबीच झडप भएको छ ।

सानोठिमी क्याम्पसमा आज पढाइ भइरहेको बेलामा नेकपा–माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीले चारवटा कम्प्युटर तोडफोड गरेका छन् ।

साउन १५ गते एमाले निकट अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच भएको कुटाकुटपछि आज पुनः पढाइ भइरहेको बेलामा तोडफोड भएको हो । तोडफोडपछि क्याम्पसको पढाइ अवरुद्ध भएको छ ।

सानोठिमी क्याम्पसका प्रमुख नरप्रसाद थापाले घटनाबारे जानकारी दिँदै उक्त दिन एउटा सङ्गठनले अर्को सङ्गठनको विद्यार्थीलाई कुटपिट गरेपछि आज त्यसको बदला लिन तोडफोड भएको बताए ।

दुवै विद्यार्थी सङ्गठनलाई राखेर छलफल गराउने प्रयास भइरहेको जानकारी दिँदै उनले सकेसम्म भोलिबाट पढाइ नियमित गराइने बताए ।

अनेरास्ववियूले गुरुपूर्णिमाका दिन गुरुहरुको सम्मान कार्यक्रम राखेपछि अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दा दुई सङ्गठनबीच झड्प भएको क्याम्पसले जानकारी दिएको छ ।

भक्तपुर क्याम्पसमा पनि गुरुपूर्णिमाको विषयलाई लिएर अनेरास्ववियू र नेपाल विद्यार्थी सङ्घबीच विवाद भएको छ । विवादपछि नेवि सङ्घले क्याम्पसका सहायक क्याम्पस प्रमुख सरोज तिमिल्सिनाको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीको मागलाई क्याम्पस प्रमुख उपाध्यायले वेवास्ता गर्ने र क्याम्पसमा तोडफोड तथा तालाबन्दी हुँदा पनि कानुनी प्रक्रिया सुरु नगरी क्याम्पस प्रमुखले मूकदर्शक भएको विद्यार्थीहरुको आरोप छ । रासस