१९ कात्तिक , काठमाडौं।
नेपालमा संविधान संसोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोगबारे के हुने भन्ने प्रष्ट नहुँदै गर्दा सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् ।sher br Deuwa walking  343697

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको थिंक ट्यांक अर्थात बुद्धिजिवीहरुको संस्था इण्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन देउवा आज बिहान काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका हुन् । देउवासँग कुनै पनि नेता भ्रमणमा सहभागी हुने छैनन् । उनका साथ पत्नी आरजुमात्र भ्रमण टोलीमा सहभागी हुनेछिन् ।

गोवाको कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गरेपछि देउवा भोलि बिहान दिल्ली फर्किनेछन् । दिल्ली फर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आइ अध्यक्ष सोनिया गान्धीसहित उच्च राजनीतिक नेतालाई भेट्नेछन् । यी भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे हुने कुराकानीलाई सबैभन्दा महत्वको मानिएको छ ।

आइतबार देउवाले जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने एक कार्यक्रममा सहभागिता जनाउनेछन् ।

देउवा ५ दिने भ्रमण सकाएर कात्तिक २३ गते १२ बजे नेपाल फर्किनेछन् । नेपालमा महत्वपूर्ण मुद्दामा राजनीतिक सहमति नजुटिरहेका बेला सबैभन्दा ठूलो दलका प्रमुख नेताले भारतको भ्रमण गर्नुलाई महत्वका साथ हेरिएको छ ।

अझै लोकमानका विषयमा कांग्रेसले कुनै निर्णय नगरी पहिले भारत जानुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । लोकमान नियुक्तिको बेला भारतको अप्रत्यक्ष भूमिका रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहँदा उनलाई हटाउनबेलामा पनि कांग्रेस अलमलिनु र यही बेला देउवा भारतमा जानुले आशंकालाई बल पुगेको बताइन्छ ।