१६ वैशाख, काठमाडौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले नआएपनि संसदमा दुई तिहाई पुर्याउने दाबी गरेका छन।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज प्रचार प्रसार समन्वय उपसमितिको पत्रकार सम्मेलनको क्रममा देउवाले यस्तो दाबी गरेका हुन।

देउवाले भने, ‘प्रमुख प्रतिपक्षी एमाले संसोधनमा नआएपनि दुई तिहाइ पुग्छ। पास हुने सम्भावना धेरै बढेको छ। माओवादी, मधेसी मोर्चा, कांग्रेस लागि रहेका छन।’

एमालेसंग सहकार्य गर्ने प्रयास नछोड्ने बताउँदै उनले भने, ‘एमाले पनि आउँछ भन्ने विश्वास छ। एमालेका केही गुनासा छ भने संसोधन गरेर जान तयार छौं। तर संविधान संसोधनलाई पारित हुन दिनुपर्छ, पास गर्नुपर्छ, प्रकियालाई एमालेले रोक्न हुँदैन, रोक्न पनि पाउँदैन।’

मधेसी जनताको भावनालाई कदर गर्नको लागि यो संसोधन अगाडी बढाएको बताउँदै उनले भने, ‘असन्तुष्ट मधेस केन्द्रीत दलहरु चुनावमा भाग लिने भइरहँदा एमालेले अड्काउने काम गर्न हुँदैन।’

कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउँदै देउवाले भने, ‘२० वर्ष पछि स्थानीय तहको निर्वाचन हुँदैछ, यो नेपाली जनतालाई बलियो बनाउने, विकासमा सहभागी गराउने स्वर्णीम अवसर हो।’

चुनावमा तालमेल गर्ने विषयमा कुराकानी भइरहेको बताउँदै उनले मधेस केन्द्रीत दलहरु निर्वाचनमा आउने भएपछि २ चरणमा निर्वाचन गर्न तयार भएको स्पष्ट पारे।

त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडलले, तराई मधेसमा वर्षौ देखि विभेद हुँदै आएको बताउँदै कांग्रेसले सबैलाई जोड्न चाहेको बताए ।