७ असोज, इलाम । नेकपा (माओवादी केन्द्र) इलामले आगामी मंसिर महिनामा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्यतामा प्रदेशसभा र संघका लागि उम्मेदवार छनोट गरेको हो । बुधबारको बैठकले संघको प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट धीरेन शर्मा र क्षेत्र नं. २ बाट कान्छा लावतीलाई उम्मेदवार छनोट गरेको हो ।

यसैगरी समानुपातिकतर्फ टीका घिमिरे र सोममाया राईलाई उम्मेदवार छनोट गरेको छ । यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं १ बाट तेजबहादुर राई र क्षेत्र नं २ बाट श्रीमान् राईलाई उम्मेदवार छनोट गरिएको माओवादी केन्द्र इलामका कार्यालय सचिव जीवन शर्माले जानकारी दिए ।

यसैगरी प्रदेशको समानुपातिकमा राम राई, उर्मिला तामाङ, किरण सुनुवार, ओमबहादुर गुरुङ, शान्ता बस्नेत, प्रेमना छिरिङ र पवन शंकरलाई सिफारिस गरिएको शर्माले बताए ।

केन्द्रका विषयमा विवाद

सन्दकपुर गाउँपालिकाको केन्द्रको विषयमा विवाद बढ्दै गएको छ । हाल केन्द्र रहेको देउराली बजारमा नै केन्द्र कायम गर्ने कि अन्यत्र सार्ने भन्ने विषयमा विवाद चुलिएको छ । देउरालीमा राख्ने पक्ष र अन्यत्र सार्ने पक्षमा गाउँपालिकावासी नै दुई पक्षमा विभाजित भएका छन् । देउराली बजार गाउँपालिकावासीका लागि अपायक पर्ने भन्दै स्थानीयवासीले पायक पर्ने स्थानमा केन्द्र कायम गर्न माग गर्दै आएका छन् । विशेषगरी माबु र जमुनाका बासिन्दाले केन्द्र अत्यन्तै अपायक क्षेत्रमा कायम गरिएको भन्दै शुरुवातदेखि नै विरोध गर्दै आएका छन् ।

राजनीतिक दल र स्थानीय तह प्राविधक सहयोग समितिको सफारिसमा देउराली बजारलाई केन्द्र निर्धारण गरिएको थियो तर सन्दकपुर गाउँसभाको बैठकले एक पटकका लागि स्थानीय तहको नाम र केन्द्र परिर्वन गर्नसक्ने व्यवस्था गरेपछि उनीहरूले माग सशक्त बनाउँदै आएका छन् ।

गाउँपालिका अध्यक्ष उदय राईले गाउँपालिकाको केन्द्रका विषयमा कुनै विवाद नभएको र गाउँसभाले पनि केन्द्र सार्ने निर्णय नगरेको बताए । माबु र जमुनाका बासिन्दाले माबुमा केन्द्र सार्न माग गरे पनि गाउँसभाले देउरालीमा नै केन्द्र कायम गर्ने निर्णय गरेपछि विवाद सकिएको अध्यक्ष राईको भनाइ छ । रासस