२७ पुस, इटहरी । कान्छीचोक–नडाहासम्मको सडक धुलाम्मे भई सडक आसपासका मानिसले हैरानी भोग्नु परेपछि आज त्यस सडकखण्डका स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

road-2

तीन वर्षअघि त्रिपल पी मोडेलमा निर्माण भएको सुनसरी कान्छीचोक चतरासम्मको २९ किलोमिटर कालोपत्र सडकमध्ये अहिले १२ किलोमिटर सडक पूरै धुलाम्मे भएको छ । जसका कारण बकलौरीवासी सडकबाट उड्ने धुलोकै कारण विभिन्न रोगले ग्रसित बन्नुपरेको भन्दै सडकमा ओर्लिएर आन्दोलन गर्न बाध्य हुनुपरेको स्थानीय अम्बिका गिरीले आक्रोसित बन्दै तत्काल सरकारले सडक कालोपत्र गर्नुपर्छ भन्दै भान्सामा पकाएको खाना पनि धुलोका कारण खानै नहुने गरेको र बढी धुलोका कारण सडकमा हिँड्नदेखि यहाँ बस्ने सबैलाई विभिन्न किसिमको रोगका सङ्क्रमणले हैरान पारिरहेकाले सडक कालोपत्र गर्न सडक विभागको ध्यानाकर्षण गराउँदै स्थानीयवासीले सडकमा ह्युम पाइप तेस्र्याएर आन्दोलन थालेको बताए ।

रु नौ करोडको लागतमा निर्माण भएको उक्त सडकमध्ये १२ किमी सडक बनाउने ठेक्का पाएको रोशन कन्ट्रक्सनले निर्माण गरेको सडक पूर्णरुपमा धुलाम्मे भएपछि बकलौरीमा सक्रिय नेपाल राष्ट्रिय किसान मोर्चाले सडकको दूरावस्थाप्रति आपत्ति जनाएको हो ।

मोर्चाका अध्यक्ष पुष्प प्याकुरेलले सडक निर्माणकर्ता कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएकाले तत्काल सडक विभागले यो सडक कालोपत्र गर्नेतिर ध्यान दिनुपर्नेमा जोड दिए ।