२७ असोज, काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपालले आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै नयाँ शक्ति पार्टीको आज बसेको सचिवालय बैठकले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर सहभागी हुने निर्णय गरेको हो ।

बैठकले संयोजक बाबुराम भट्टराईसहितका शीर्ष नेताको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ । निर्णयअनुसार भट्टराई गोरखा–२, कृष्णकुमार चौधरी कैलाली–३, दानबहादुर चौधरी कपिलवस्तु–१, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुने छन् ।

बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई स्वीकार गर्ने राजनीतिक पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय पनि गरेको छ ।