१४ चैत, लमजुङ (बेँसीसहर)।
शिक्षामन्त्री धनीराम पौडेलले नयाँ शिक्षा ऐनअन्तर्गत नयाँ नियमावली आवश्यकता रहेको बताएका छन् ।

सदरमुकाम बेसीसहरमा आज आयोजित ‘दिगो विकासका लक्ष्य र स्थानीय तहबारेमा सांसद तथा सरोकारवालासँग अन्तक्र्रिया’ कार्यक्रममा मन्त्री पौडेलले कर्मचारी र अभिभावकले अहिले शिक्षा व्यवस्थापन नियमावलीको औचित्य र आवश्यकता महसुस गरेकाले पनि चाँडोभन्दा चाँडो नियमावली ल्याउनका लागि मन्त्रालय लागेको जानकारी दिए ।

अर्काे प्रसङ्गमा उनले केन्द्रमा निहित अधिकार स्थानीय तहमा आएकाले गाउँ तथा नगरको विकास समृद्धिका लागि अब हुने स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने बताए । सक्षम नेतृत्वका लागि निर्वाचनमा सहभागी हुने राजनीतिक दल गम्भीर हुनुपर्नेमा पनि उनले जोड दिए । उनले भने “अबको निर्वाचित नेतृत्वले स्रोत जुटाउने, सहभागिता बढाउने र परिचालन गरी गाउँ समृद्ध बनाउन सक्नुपर्छ ।”

जनसङ्ख्या तथा विकासका लागि सांसदको राष्ट्रिय मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा को अध्यक्षता महालक्ष्मी उपाध्याय (डिना) ले गरेकी थिइन । रासस